प्रमुख समाचार

सिद्धबाबालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन दर्ता

इकागज |
चैत २, २०७७ सोमबार १५:५९ बजे

फाइल तस्बिर

विराटनगर : उच्च सरकारी वकिलको कार्यालयले विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता गराएको छ । निवेदन दर्ता भएसँगै उच्च अदालतले मुद्दाको सक्कल मिसिल पठाउन सुनसरी जिल्ला अदालतलाई पत्रचार गरेको छ । जिल्लाबाट सक्कल मिसिल आएपछि मुद्दाको सुनुवाई प्रकृया अघि बढ्नेछ ।
 
गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । दुई महिनापछि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो । पूर्णपाठ सार्वजनिक भएको एक महिनापछि शुक्रबार उच्चमा पुनरावेदन निवेदन दर्ता भएको हो । सामान्यतया फैजदारी मुद्दामा फैसलाको एक महिनाभित्र फैसला लेख्‍न सक्नुपर्छ ।

२०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । जाहेरीपछि पक्राउ परेका सिद्धबाबाले हिरासतको समय अवधिमा विराट नर्सिङहोममा बसेका थिए । तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले २०७६ साल पुस १४ गते तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।


जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । 


Author

थप समाचार
x