प्रमुख समाचार

एनआरएनए संरक्षक परिषद्‌ र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह

एनआरएनए-संरक्षक-परिषद्

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:४ बजे

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्‌ (एनसीसी) का अध्यक्षहरूले संघको संरक्षक परिषद्‌ र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरू शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर संकटमा परेको भन्दै बोलाएको बैठकमा गत वर्ष चुनाव भएका ६५ वटा एनसीसीहरूमध्ये ४५ भन्दा बढी एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी भएका थिए ।

संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले एनसीसीहरू लगायत सबैलाई ‘एकताबद्ध तथा बलियो एनआरएनए बनाउने’ एउटा मात्रै मुख्य ध्येय लिएर अगाडी बढ्न आह्वान गरे । उनले एनसीसीहरूलाई संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गरे । उनले एनसीसीहरू स्वायत्त र सार्वभौम छन् भन्दै एनसीसीहरूलाई उनीहरूले गरिराखेको राम्रो काम जारी राख्न आग्रह गरे । संस्थालाइ एकजुट गर्न आफुहरूले छिट्टै कदम चाल्ने उनले बताए ।

पूर्व अध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले यो बैठक बोलाएको बताए । ‘यो कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरूको हितको लागि बनाएको संस्था हो । हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस् । कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ । यो जग तपाईंहरूले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ,’ उनले भने ।

संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले यो सत्य र असत्यबीचको लडाई हो भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद्‌ चाहिएको बेला खारेज गर्ने भन्ने निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको जनाए । ‘अहिलेको नेतृत्वले गलत काम गर्दै जाने हो भने हामी पनि चुप लागेर बस्न सक्दैनौं । हामीले पनि केही कदम चाल्नै पर्छ ,’ आचार्यले भने ।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्‌ (आइसीसी) बैठकले संरक्षक परिषद्‌ तथा उच्चस्तरीय समिति भंग गर्ने भन्ने निर्णय विधान विपरित भएकाले त्यसको कुनै कानूनी हैसियत नभएको बताए । उनले एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गरे । ‘त्यो पत्र फिर्ता लिनुपर्छ । संरक्षक परिषद्‌ भंग गर्ने निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने ।

बैठकले पारित गरेको चार बुँदे प्रस्तावमा संरक्षक परिषद्‌ तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरिएको छ । ‘ संघलाई विभाजनको संघारबाट जोगाएर सहमति र सहकार्यको आधारमा दशौँ महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै पहल गर्न पनि यो बैठक प्रमुख संरक्षक डा. शेष घले, संरक्षकज्यूहरू तथा उच्चस्तरीय समितिलाई आह्वान गर्दछ,’ प्रस्तावमा भनिएको छ ।

मार्च २, २०२२ मा बसेको आइसीसी बैठकले एनसीसी अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा तथा जापान लाई सदस्यता शुल्क बुझाउन दबाब दिँदै अध्यक्ष कुमार पन्तको नाममा हजारौ पंजीकृत सदस्यहरूलाई सोझै इमेल पठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एनसीसीहरूलाई दबाब र धम्की दिने कामहरू तत्काल बन्द गर्न बैठकले माग गरेको छ ।

उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावली उपर दावी विरोध गरेको र उच्चस्तरीय समितिले गरेको छानबिनले संघको दशौँ महाधिवेशनका लागि मताधिकार प्राप्त प्रतिनिधिहरूको संख्यामा ठूलो फरक देखिएकाले प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन बैठकले आह्वान गरेको छ ।

बैठकले निर्वाचन समितिले सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताको प्रावधान राख्ने जस्ता काम गर्दा निर्वाचनको निस्पक्षता माथि गम्भीर आशंका उत्पन्न भएको भन्दै स्वतन्त्र, निस्पक्ष र धांधलीरहित निर्वाचन सुनिस्चित गर्न आइसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ ।



Author

थप समाचार
x