प्रमुख समाचार

युक्रेन मामिलामा नेपालको वक्तव्य असंलग्नताको परराष्ट्र नीतिकै मर्म अनुसारः मन्त्री खड्का

युक्रेन-मामिलामा-नेपालको

पुष्पराज आचार्य |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

काठमाडौँ– परराष्ट्र मन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणका बारेमा नेपालले दिएको वक्तव्य असंलग्नताको परराष्ट्र नीति अनुसार नै भएको बताएका छन् । उनले हरेक मुलुकले अर्को मुलुकको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने, थिचोमिचो, विभेद र आक्रमण गर्न नपाइने असंलग्न परराष्ट्र नीतिको मर्म भएको बताए । शान्तिपूर्ण र कूटनीतिक बाटोबाट समस्या समाधान गर्नुपर्नेमा रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको उनले दोहो¥याए ।

युक्रेनमाथि रुसको आक्रमणमा नेपाल पश्चिमा राष्ट्रहरूसँग लहसिएर विज्ञप्ति दिएको भन्दै आलोचना हुँदै आएको थियो । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले युक्रेनमाथि आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित मूल्य, मान्यता विपरित रहेको भन्दै संकल्प प्रस्तावमा मतदान गराउँदा नेपालले पक्षमा मतदान गरेको थियो ।

छिमेकी भारत तटस्थ रहेको, चीनले रुसलाई समर्थन गरेको सन्दर्भमा छिमेकी देशहरू एकातिर र नेपाल अर्कोतिर भएको भनेर टिका टीप्पणी हुँदै आएको थियो । यसअघि सन् २०१४ मा रुसले युक्रेनबाट खोसेर क्रिमियालाई गाभ्दा भने नेपाल तटस्थ बसेको थियो ।

तर मन्त्री खड्काले नेपाल असंलग्नताको परराष्ट्र नीति अंगीकार गर्ने राष्ट्रहरूको समूहमा संस्थापक देश समेत भएकाले हरेक देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हुनुपर्छ भन्नेमा प्रतिवद्ध रहेको उल्लेख गरे ।

युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरूको उद्दारको सम्बन्धमा मन्त्री खड्काले त्यहाँ रहेका ५३३ नेपालीमध्ये ४२७ पोल्याण्ड, ७१ स्लोभाकिया, २७ रोमानिया र ८ जना हंगेरीमा सुरक्षित रूपमा आश्रय लिन पुगेको र त्यहाँबाट उनीहरूलाई उद्दार गर्न समन्वय भैरहेको बताए । त्यस्तै, सोभियत युनियनकालीन समयमा त्यहाँ अध्ययन तथा अन्य कामको सिलसिलामा गएका ४८ देखि ५० जना नेपाली युक्रेनका स्थायी बासिन्दाका रूपमा रहेको जानकारी पाएको मन्त्री खड्काले बताए ।



Author

थप समाचार
x