प्रमुख समाचार

युक्रेनमा रुसी आक्रमण : हामीले बेहोर्नुपर्ने बाछिटा

विनोद सिजापती |
फागुन २४, २०७८ १८:५ बजे

यो आलेख लेख्दै गर्दा रुसले युक्रेनमाथि गरिएको आक्रमणको १२ दिन हुन्छ । रुसी राष्ट्रपति पुटिनले ६ दिनमै युक्रेनलाई आफ्नो सेनाले कब्जामा लिने घोषणा गरेका थिए । तिनले ६ दिन लामो इजराइल–अरब युद्ध (१९६७) स्मरण गरेका हुन सक्छन् । रुसी फौजले आणविक भट्टीदेखि सहरी भवनहरूमा बम बर्साउँदै छ । युक्रेनी सेना तथा नागरिकले आक्रमणकारीविरुद्ध जबर्जस्त मुकाबिला गर्दैछन् । युद्धको प्रकृति मध्यनजर गर्दा युद्धबारे दुईवटा लख काट्न सकिन्छ । पहिलो, रुसी फौजले सहजसँग युक्रेन कब्जा गर्न सक्दैन । धेरै समय, मानवीय र भौतिक क्षति हुने देखिन्छ । दोस्रो, रुसी फौजले युक्रेनमा कब्जा जामाइहाल्यो भने पनि उसले युक्रेनी भूमिलाई आफ्नो अधीनमा राख्न कठिन छ । त्यस अवस्थामा युद्ध लम्बिँदै जाने सम्भावना देखिन्छ ।

पुटिनले किन युक्रेनमाथि आक्रमण गरे ? उत्तर अस्पष्ट छ । रुसी समर्थकहरूले युक्रेनले लक्ष्मणरेखा नाघेको भन्दै आएका छन् । पश्चिमा मुलुकहरू (युरोपियन युनियन तथा नाटो सदस्य राष्ट्रहरू) सँगको युक्रेनले निकट सम्बन्ध स्थापना गर्दा रुसमाथि सुरक्षा चुनौती थोपरिएको हुनाले रुसी कारबाही आवश्यक परेको ठम्याइ छ । यो तर्कलाई स्वयं राष्ट्रपति पुटिनले गलत ठहर्याएका छन् । लामो कृत्रिम ऐतिहासिक लेख प्रकाशित गरेर युक्रेन रुसको अभिन्न अंग भएको तर्क तिनले प्रस्तुत गरेका छन् ।


उक्त लेखमा लेनिनमाथि ऐतिहासिक गल्ती गरेको आरोप तिनले लगाएका छन् । युक्रेनलाई अलग राष्ट्रको मान्यता लेनिनले दिएर समस्या सिर्जेको तिनको भनाइ छ । पुटिनका अनुसार, रुसी र युक्रेनियनबीच नश्लको सम्बन्ध छ । दुवै एकै जाति स्लाभ हुन् । हिटलरले पनि दोस्रो युद्ध सुरु गर्नुपूर्व अस्ट्रियामा जर्मन जाति र भाषाभाषीको बाहुल्य भएको हुनाले अलग राष्ट्र हुनुको औचित्य छैन भनेका थिए ।

युक्रेन स्वतन्त्र राष्ट्र भएको हुनाले उसले कुन राष्ट्र वा राष्ट्रहरू के–कस्तो सम्बन्ध कायम गर्ने त्यसको निर्णय युक्रेनबासीले गर्ने हो । युक्रेनसँग २,२९५ किलोमिटर लामो सिमाना भएको हुनाले रुसको चासो सुरक्षा हो । युक्रेनले विस्तार गरेको सम्बन्धले रुसी सुरक्षामा के÷कस्तो प्रभाव पर्छ ? त्यस विषयमा छिमेकी राष्ट्र संवेदनशील हुनु नितान्त आवश्यक थियो र छ । तर युक्रेनले रुसको सुरक्षा दखल हुने कार्य गरेको प्रमाण रुसले कतै पनि प्रस्तुत गरेको छैन । नाटोको सदस्यता चर्चामा आउँदा साथै नाटो सदस्य राष्ट्रहरूले युक्रेनलाई सदस्यता दिने विषय थातीमा राखे । युक्रेनले रुसलगायत पश्चिमी राष्ट्रहरूको सुरक्षा आश्वासनलाई भरोसा गरी आफूसँग भएको आणबिक भण्डार नष्ट गरेको थियो (१९९४) ।

पुटिनका विषयमा धेरै चर्चा गर्नु आवश्यक पर्दैन । तिनले कुन बेलामा के–कस्तो नर्णय गर्छन् त्यसको अन्दाज हालसम्म कसैले गर्न सकेका छैनन् । पुटिन ज्ञाता कहलिएका रुसी तथा पश्चिमा बुद्धिजीवीलगायत सुरक्षा निकायका कर्मचारीलाई रुसले जर्जियामाथि (२००८) आक्रमण गर्छ भन्ने विश्वास थिएन । धेरै विश्लेषक तथा सुरक्षाविद्हरू २०१४ मा रुसले युक्रेनलाई आक्रमण गरी क्रिमिया हडप गर्ला भन्ने सोचेका पनि थिएनन् । त्यही वर्ष रुसले युक्रेनको दोनेस्क तथा लुहानस्क ओब्लास्ट्स क्षेत्रमा पनि कब्जा जमायो । त्यसो त, ३–४ महिना पूर्वी युक्रेनको सीमानामा रुसले बृहत् सैनिक परिचालन गर्दा पनि धेरैले पुटिनले ‘ध्वाँस’ दिन खोजेको अर्थ लगाए । विगतमा पनि तिनले सैनिक शक्ति प्रदर्शन गरेर पश्चिमा शक्तिसँग सौदाबाजी पटक–पटक गर्दै आएका हुन् । खुफिया एजेन्सीहरूले २÷३ महिना अघिसम्म पुटिन युद्धमा होमिने छैनन् भन्ने लख काटेका थिए । युद्धको परिणाम कति घातक हुन्छ भन्ने केजीबीको पूर्व कर्णेललाई राम्रैसँग थाहा छ भन्ने विश्वास थियो । पुटिनले युद्धको जोखिम मोले । युद्धबाट हुने परोक्ष तथा अपरोक्ष प्रभावहरूलाई तिनले नजरअन्दाज गरे ।

आक्रमणकारीलाई कस्ले रोक्ने ?

युक्रेनमा रुसले आक्रमण गर्ने निश्चित भए लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई युक्रेन नपठाउने घोषणा गरेका थिए । उक्त घोषणालाई ‘उक्साउने तर आपत् विपत् परेको बेला मुन्टो फर्काउने अमेरिकी नीतिको निरन्तरता’ ठहर गरेका छन् धेरै पर्यवेक्षकले । जबसम्म अमेरिकाले सैनिक हस्तेक्षप गर्न अग्रसर हुँदैन तबसम्म नाटो अगाडि बढ्ने प्रश्न उठ्दैन । भर्खर अफगानिस्तानबाट ‘पुच्छर लुकाएर’ भागेको अमेरिका रुससँग भिड्न अग्रसर किन हुन थियो ? त्यसो त, दुई राष्ट्रबीच भिडन्त भयो भने आणविक युद्ध हुने प्रायः निश्चित छ । दोस्रो विश्वयुद्धका सहयोद्धा रुस र अमेरिका आफूहरूबीच धेरै पटक वाक–युद्ध गरे । क्युबामा रुसी मिसाइल बेस निर्माण (१९६२) प्रयासबाट रुस पछि हट्यो, दुई राष्ट्रबीच सम्भावित मुठभेड टार्न । सिरियामा रुसी हस्तक्षेप बढ्न थालेपछि अमेरिका पछि हट्यो । रुसले अफगानिस्तान, इराक र लिबिया आदि मुलुकहरूमा अमेरिकालाई रोक्ने प्रयास गरेन ।

वर्तमान कालखण्डमा अमेरिकी जनमत युद्धको पक्षमा छैन । युक्रेनको सुरक्षाका निमित्त अमेरिकी सेनाले ज्यान फाल्न किमार्थ तयार हुँदैन । आणविक हतियार सञ्चालक फौजलाई उच्च सतर्क हुन आदेश दिने पुटिनसँग भिडेर विश्व विनाशको सम्भावना अमेरिकी नागरिकका निमित्त स्वीकार्य हुँदैन ।

युरोपेली राष्ट्रहरू असामन्जस्य अवस्थामा छन् । रुससँगको ‘इन्गेजमेन्ट’ बढाउन अग्रसर थियो, युरोप । रुसले उनीहरूको २५ प्रतिशतभन्दा बढी इन्धन आपूर्ति गर्दै आएको छ । रुसबाट इन्धन आपूर्ति हुने सुनिश्चित भएकाले जर्मनीले इन्धन उत्पादन गर्ने आणविक भट्टीहरूमा ताल्चा मारेको छ । तात्कालिक अवस्थामा जर्मनी मात्र होइन प्रायः सबै युरोपेली राष्ट्रहरू रसियन पाइप लाइन बन्द होला भन्ने चिन्तामा छन् । उनीहरूको सामुन्ने तात्कालिक उपलब्ध हुने वैकल्पिक इन्धन स्रोत छैन । अर्कातर्फ रुससँग सिमाना जोडिएका राष्ट्र आफैँ रुसलाई सुरक्षाको चुनौतीको रुपमा हेर्न थालेका छन् । उनीहरूलाई रुस युक्रेनमा रोकिने हो वा अघि बढ्छ त्यसको भय छ । छिमेक राष्ट्रहरूले अप्रत्याशित रुपमा बढ्दो युक्रेनी शरणार्थी समस्याको बोझ थेग्नुपरेको छ । रुससँग भिडिहाल्दा बेहोर्नुपर्ने क्षति र मूल्य चुकाउन कुनै पनि युरोपियन राष्ट्र तयार छैन ।

चीनले विगतमा कुनै एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप ग¥यो भने त्यसको घोर विरोध गर्दै आएको थियो । सी चिन पिङ र पुटिनबीचको सुमधुर–मैत्री सम्बन्धका कारण हो वा अन्यले गर्दा चीनले यसपटक मौन धारण गरेको छ । यो मौनतालाई केही विश्लेषक युद्धप्रति युरोपेली मुलुकहरूको प्रतिक्रिया अध्ययन गर्ने चिनियाँ रणनीति ठानेका छन् । ताइवानलाई एकीकरण गर्न दृढ संकल्पित चीनका निमित्त युरोपियन मुलुक तथा अमेरिकाले रुसी हस्तक्षेपलाई कसरी प्रतिकार गर्छन् त्यो अध्ययनको विषय भएको छ ।

युरोपको रणभूमिमा हात बाँधेर बस्ने राष्ट्रहरू ताइवानलाई जोगाउन अग्रसर होलान् ? रुसको समर्थनमा ताइवानलाई एकीकरण गर्न सहज पनि हुन्छ । भारत, रुसलाई चिढाउने अवस्थामा छैन । भारतसँग रुसको मैत्री सम्बन्ध प्रगाढ छ । भारतीय सुरक्षाका निमित्त हतियारको प्रमुख स्रोत रुस हो । भारत– रुसविरुद्धमा एक वचन पनि बोल्न चाहँदैन । रुसले गरेको आक्रमणलाई आँखा चिम्लनु भारतको स्वार्थमा छ ।

अर्को शक्ति राष्ट्र टर्कीको अवस्था फरक छैन । टर्कीको ४० प्रतिशत इन्धन आपूर्ति रुसबाट हुन्छ । नाटो सदस्य भए पनि टर्की युक्रेनका निमित्त युद्धमा होमिन तयार छैन । जापान, अस्ट्रेलिया तथा एसियन सदस्य राष्ट्रहरू रुसविरुद्ध मोर्चाबन्दी गर्न रणनैतिक हिसाबले पनि इच्छुक छैनन् । केजीबीको पूर्वकर्साब पुटिनले युक्रेनविरुद्ध आक्रमण गर्नुपूर्व माथि उल्लिखित अवस्थाको लेखाजोखा नगरी अकस्मात् आक्रमण अवश्य पनि गरेका होइनन् ।

विद्यमान अवस्थामा विश्व समुदायका सामुन्ने रमिते हुनुको विकल्प धेरै छैन । रुसले युक्रेनलाई बलात्कार गरेको टुलुटुलु हेर्न मानवीय समवेदनाको कारणले पनि सम्भव हँुदैन । त्यही कारणले गर्दा हो, अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा खडा भएको । युद्धविरामको माग बढ्न थालेको छ । विश्व समुदायको नैतिक समर्थन युक्रेनको पक्षमा । युद्धविरुद्ध रुसमा पनि जनमत बढ्दो छ । अत्यन्त प्रतिकूल अवस्थामा पनि रुसी सहरहरूमा दिनहुँ युद्धविरुद्धमा प्रदर्शन हुँदैछन् ।

यिनै वास्तविकता आत्मसात् गरी युक्रेनका राष्ट्रपति जेल्न्सकी सहयोगको याचना गर्दैछन् । तिनले युरोप र अमेरिकासँग सहयोग माग्दा आत्मरक्षाका निमित्त आवश्यक हतियारको आपूर्ति तथा आर्थिक सहयोग, युक्रेनियन भू–भागलाई ‘नो फ्लाई जोन’ घोषणा तथा रुसविरुद्ध प्रभावकारी प्रतिबन्ध लागू गर्नु हो । तिनले माग गरेका तीनमध्ये कठिन अनुरोध ‘नो फ्लाई जोन’ हो । युक्रेनको हवाइ क्षेत्रमा रुसी हवाईजहाजलाई निषेधित गर्ने आदेश दिन युरोप तथा अमेरिका तयार छैनन् । त्यस्तो आदेशलाई रुसले मान्नेवाला छैन । उल्टो त्यसलाई रुस आफूमाथि आक्रमण गरेको ठहर गर्नेछ ।

हतियारको आपूर्ति र आर्थिक सहयोग दिनुको अर्थ, युक्रेनलाई रुसी हमलाबाट हुने धनजन क्षति न्यून गर्नु हो । आर्थिक नाकाबन्दीको प्रभाव प्रत्यक्ष रूपमा रुसी नागरिकले खेप्ने हो, राष्ट्रपतिले होइन । धमिरा लागेको रुसी अर्थतन्त्रलाई नाकाबन्दीको प्रभाव अन्य राष्ट्रलाई भन्दा बढी हुने निश्चित छ । त्यसैगरी पुटिनलाई सहयोग गर्ने ‘ओलिगार्क’हरूको सम्पत्तिमा पश्चिमा राष्ट्रहरूले रोक लगाउँदा उनीहरू निस्तेज हुन्छन् । तिनीहरूको समर्थन पुटिनका निमित्त अत्यावश्यक छ । उनीहरू युद्धको खिलाफ खडा भएको खण्डमा पुटिनलाई कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।

युक्रेनको समर्थनमा हुने नैतिक, आर्थिक तथा आवश्यक युद्ध सामग्रीहरूको सहयोगले निश्चय पनि युद्ध अवधि लम्बिने छ । युद्ध जति लम्बिन्छ, त्यति त्यति युद्धको राप र तापले विश्वलाई सताउने निश्चित छ । आशाको त्यान्द्रो नै किन नहोस् युद्ध छोटिने भनेको राष्ट्रपति पुटिनको पतन हो । विनाकारण युद्धमा राष्ट्रलाई होमेकोमा उनीप्रति रुसी नागरिक रुष्ट छन् । त्यसो नहँुदो हो त रुसमा युद्धका विषयमा सामान्य लेख प्रकाशनमा पनि प्रतिबन्धित लाग्ने थिएन । रुसी मिडियाहरू प्रतिबन्धित हुन थालेका छन् । निश्चय नै जब युक्रेनमा खटिएका सैनिकहरू बाकसमा बापस आउन थाल्छ, तब पुटिनविरुद्ध जनमत आकासिने छ । आर्थिक नाकाबन्दीको असरले बजारमा सामानहरूको अभाव हुने निश्चित छ । अभावग्रस्त नागरिकले जतिसुकै शक्तिशाली तानाशाहलाई लामो अवधिसम्म सत्तासीन हुन दिँदैनन् । पुटिनका निमित्त यो युद्ध पतन–पथ साबित हुन सक्छ ।

हाम्रो मुलुकका निमित्त युक्रेनमाथिको रुसी आक्रामण तत्काल निम्ति प्रभाव कम देखिन्छ । युक्रेनमा अध्ययन गर्न पुगेका विद्यार्थी तथा त्यहाँ काम गर्दै गरेका सीमित संख्याका नेपाली नागरिकलाई उद्धार गर्न सरकारले सक्रियता देखाएन । अधिकांश नेपालीले युक्रेन छोडेको बुझिन्छ । तर, जति जति युद्ध लम्बिँदै जान्छ, त्यसको बाछिटाले हामीलाई पनि भिजाउने निश्चित छ । पश्चिमा मुलुकहरूले युक्रेनलाई मानवीय तथा रक्षात्मक सहयोग बढाउन थालेपछि उनीहरूले दिँदै आएको विकास सहयोग घट्न थाल्छ ।

हामी जस्तो स्रोत र साधनको अभावमा पिल्सिएको मुलुकका निमित्त दातृराष्ट्रहरूले दिने सहयोगमा कटौती आउनु भनेको अनिष्ट निम्तनु हो । अर्काे त, युद्धले इन्धनको आपूर्तिमा प्रत्यक्ष असर पार्छ नै । इन्धनको अभाव भनेको मूल्य वृद्धि हो । इन्धनको मूल्य वृद्धिले बजारमा उपलब्ध हुने सामग्रीहरूको उत्पादन मूल्य तथा आपूर्तिमा प्रत्यक्ष असर पर्छ । त्यसैगरी युद्धका कारणले वैदेशिक रोजगारीका अवसर तथा पर्यटक भित्रिने क्रम खस्कने निश्चित छ । व्याप्त गरिबीले झन् विपन्न तुल्याउने चक्रव्यूहमा फस्ने प्रबल सम्भावना छ ।

 


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
ad
x