म्याद गुज्रिएको लामखुट्टेको औषधी छर्किएपछि स्थानीय बिरामी
जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाको एक वडामा लामखुट्टे नियन्त्रण गर्न म्याद गुज्रिएको औषधि छर्किंदा स्थानीयबासी बिरामी पर्न थालेका छन् ।
जलेश्वर नगरपालिका–५ स्थित पर्सा, पतैली, चौरिया र बिसनपुर लगायतका गाउँमा उक्त औषधप्को नकारात्मक असरले स्थानीयबासी तथा बालबालिकामा शरीर चिलाउनु, ज्वरो, वान्ता र जिउँ फुल्ने लगायतका समस्या देखिएको छ ।
गत ४ दिनअघि वडा कार्यालयद्वारा औषधी छर्किएको केही घण्टा नबित्दै औषधीको नकारात्मक प्रभाव स्थानीय बालबालिका, युवा, बृद्धदेखि पशु चौपायामा समेत त्यसको समस्या देखिन थालेको थियो ।स्वास्थ्य अवस्था बिग्रिन थालेपछि स्थानीय स्वास्थ्य चौकीमा बिरामीहरुको चाप समेत बढेको बताइएको छ ।स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीले भने म्याद गुज्रिएको औषधिको प्रभाव मानिसमा मात्र नभई चौपाया पशुमा समेत देखिएको छ । औषधि छर्केको केही समयपछि स्थानीयमा शरीर चिलाउनु, बान्ता र जिउँ फुल्ने लगायतका समस्या देखिएको थियो ।
उनले भने ‘एक्कासी स्थानीयको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि तिनीहरु सिट्रिच, सिटामोल, एन्टीबायोटिक लगायतका औषधी खोज्दै पसल र स्वास्थ्य चौकीसम्म पुगेपछि थाहा पाइयो कि यो लामखुट्टेविरुद्धको औषधिका प्रभाव रहेको छ ।’स्थानीय शत्रुध्न शर्माका अनुसार, लामखुट्टेको औषधी छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्यो कसैलाई चिलाउने, कसैलाई ज्वरो आउने, बालबालिकाहरु रुने लगायतका समस्या शुरु भयो आफूलाई समेत समस्या देखिएको छ ।
उता जलेश्वर नगरपालिका ५ अध्यक्ष राकेश राउतले म्याद गुज्रिएको औषधी छर्किएको आरोप निराधार रहेको दाबी गरेका छन् । उनले भने, ‘म्याद गुज्रिएको औषधी छर्किनुका कारण यो समस्या देखिएको नभई आवश्यक मात्राभन्दा बढी औषधी प्रयोग गरिएकाले यस्तो समस्या सिर्जना भएको हुन सक्नेछ ।’वडाध्यक्ष राउतले भने ‘आठ लिटर पानीमा एउटा प्याकेट मिलाउनुपर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएको कारण यस्तो समस्या आएको हो । वास्तविक कुरा के हो म बुझ्दैछु ।’
उनका अनुसार, लामखुट्टेको औषधी ६ महिनाअघि वडा कार्यालयमा ल्याएको थियो । औषधीको म्याद गुज्रिनु २ महिना बाँकी छ । तर वडा कार्यालयबाट उपलब्ध औषधिको नमूनाको उत्पादन मिति दुई वर्षे म्यादसहितको सेप्टेम्बर २०१८ छ । उपलब्ध औषधिको नमूनामा ६ महिनाअघि म्याद समाप्त भइसकेको प्रसंगमा वडाध्यक्ष राउतले भने त्यसलाई अस्वीकार गर्दै भने ‘त्यो कुरा हामीलाई थाहा छैन, यो नमूना कहाँ को हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया