प्रमुख समाचार

अन्तर्वार्तामा छनौट नै नभएका उम्मेदवार उत्तिर्ण भएको झाको आरोप

सुभाष कर्ण |
चैत ११, २०७७ बुधबार ७:७ बजे

जनकपुरधाम : गणकको लागि माग गरिएको आवेदनमा धनुषाको मिथिलाबिहारी नगरपालिकाले अन्तवार्ताका लागि छनौट नै नभएका व्यक्तिलाई भर्ना गरेको आरोप लगाइएको छ । गणक पदका लागि करार सेवामा आवेदन दिएका मध्ये ७ जनालाई मात्र प्रयोगात्मक तथा अन्तवार्ताका लागि छनौट गरिएको थियो । अन्तवार्तामा सहभागी पनि ती ७ जना नै सहभागी भएका थिए ।

तर उत्तिर्ण भएकाहरुको नामावली प्रकाशन गर्दा अन्तर्वार्ता नै नदिएकी प्रतिमा मण्डलको नाम प्रकाशन गर्दा विवाद उत्पन्‍न भएको हो । उत्तिर्ण भएकाहरु अहिले तालिम प्रक्रियामा रहेका छन । नगरपालिकाले गएको पुस १० गते करार सेवामा गणक पदका लागि १५ दिने आवेदन दिन भनी मांग सहितको सूचना प्रकाशन गरेको थियो । सो सूचनाका आधारमा आवेदन दिएकाहरु मध्येको माघ २३ गते अन्तवार्ताका लागि ७ जनाको नाम प्रकाशन गरियो ।


अन्तर्वार्ताको एक सातापछि ८ जनालाई उत्तिर्ण भएको नामावली प्रकाशन गरियो । जसमध्ये ५ जना जागिरका लागि सिफारिस र ३ जनालाई वैकल्पिक उम्मेदवारको नाम प्रकाशन गरिएको अन्तर्वार्ता नै नदिएका प्रतिमा मण्डलको नाम सिफारिस सूचीमा परेपछि विवाद उत्पन्‍न भएको वैकल्पिक उम्मेदवार सत्यम कुमार झाले बताए ।

उनले आर्थिक लेनदेन र राजनीतिक आस्थाका आधारमा अन्तवार्ताका लागि छनौट नै भएका उम्मेदवारलाई उत्तिर्ण गरेको आरोप लगाएका छन् । झाले भने 'नगरपालिकाले गल्तीविरुद्ध आफूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा निवेदन दर्ता गराए पनि उनीहरु मौन छन् ।' निवेदन दिएको बेला प्रमुख जिल्ला अधिकारीले घटनाबारे अनुसन्धान गर्छौ तर अहिले आएर स्थानीय प्रमुख आफूभन्दा माथि रहेकाले केही गर्न नसक्ने भनी अख्तियारमा जान भनी बेवास्ता गर्दै आएको आरोप लगाए ।

जिल्ला समन्वय समिति र अख्तियारको बर्दिबास कार्यालयसमेतले नगरपालिकाका जनप्रतिनिधिसँग मिलोमतो हालसम्म कुनै पहल नगरेको आरोप लगाए । नगरपालिकाले आवेदनको माग, अन्तर्वार्ता र सिफारिस भएका उम्मेदवारबारे सूचना आफ्नो अधिकारिक बेवसाइटमा सार्वजनिक नगरी सामाजिक सञ्जाल फेसबूकको आफ्नो पेजमा राखेका थिए । तर विवाद उत्पन्‍न भएपछि नगरपालिकाले त्यसलाई सच्याएर अन्तर्वार्ता नामावलीमा प्रतिमाको नाम थप गरी ८ जना बनाएका छन् ।

घटनाबारे नगरपालिकाका प्रशासकीय अधिकृत विरेन्द्र लाल कर्णले भने 'प्राविधिक त्रुटिले गर्दा ७ जनाको नाम मात्रै प्रकाशन गर्‍यो । आफूलाई थाहा भएपछि तुरुन्त सच्याएर ८ जना गरेका छौँ' उनले भने 'हाम्रो कागजात एक दुरुस्त छ, यदि हामी गलत गरेका छौँ भने आरोप लगाउने व्यक्ति जिल्ला प्रशासन कार्यालय, जिसस र अख्तियार समेत पुगेका छन् । सम्बन्धित निकायबाट अनुसन्धान भएपछि नगरपालिकाबाट स्पष्टीकरण सहित जवाफ पठाइसकेका छौँ । नगरपालिकाको गल्‍ती ठहरेमा आफू कारवाही भोग्‍न तयार छु ।'

नगरपालिकाको सूचना वेभसाइटमा प्रकाशन नगरी सामाजिक सञ्जालमा प्रकाशन गर्नुको कारण के भन्ने प्रसंगमा अधिकृत कर्णले भने 'आईटी अफिसर अभावले गर्दा वेभसाइटमा अपडेट नगरी सामाजिक सञ्जालमा राख्‍यौँ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x