प्रमुख समाचार

एमालेले मतदाताको अवमूल्यन गर्‍योः गगन थापा

इकागज |
जेठ १, २०७९ आइतबार २०:५० बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले वैशाख ३० गते मतदान गर्ने मतदाताको अवमूल्यन गरेको आरोप लगाएका छन् । मत परिणाम आउन थालेपछि अन्तिम परिणाम कुर्ने धैर्यता नराखी एमालेले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

'एमालेले मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक तर प्रारम्भिक विवरण आउन थालेपछि प्रश्‍न उठाउनु मतदाताको अभिमतको अवमूल्यन गरेको छ,' थापाले टिप्पणी गरेका छन् ।


आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी निर्वाचनमा मतदान र मतगणनाको समयमा गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गरेको आरोप लगाएका हुन् । एमालेले आफूविरुद्ध मोर्चाबन्दीले मात्रै नपुगेर चुनावमा भइरहेको योजनाबद्ध धाँधलीलाई तत्काल रोक्न माग गरेका थिए ।

‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएको मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् । उनले पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न माग गरेका छन् ।

 


Author

थप समाचार
x