कक्षा ११ को नेपाली किताबमा त्रुटि, बेवास्ता गर्दै मन्त्रालय
शहीद दुर्गानन्द झाको जीवनबारे भ्रामक तथ्य प्रस्तुत
जनकपुरधाम : पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११ को नेपाली किताबमा नेपालको पहिलो गणतान्त्रिक शहीदबारे गम्भीर त्रुटि देखिएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको संस्थाले प्रकाशन गरेको किताबमै प्रजातान्त्रिक योध्दा शहीद दुर्गानन्द झाको जन्मस्थान, आमाको नाम र शहादत मिति लगायतका विषयमा त्रुटि भेटिएको हो ।
शहीद झाको जन्म धनुषा जिल्लाको जटही गाउँमा भएको हो । आमाको नाम सुकुमारी देवी झा र उनको शहादत वि.सं. २०२० माघ १५ गतेका दिन भएको थियो । तर, ११ कक्षाको नेपाली किताबमा उनको जन्म सिरहा जिल्लाको जटही गाउँमा भएको, आमाको नाम देविका झा र शहादत मिति माघ ५ भएको भनिएको छ ।
किताबको पृष्ठ नम्बर ६१ मा सिर्जना र परियोजना भन्ने शीर्षकमा दिएको तस्बिर हेरेर पदावलीको आधारमा जीवनी लेख्नुस् भनिएको छ । जहाँ शहीद झा बारे गलत विवरण राखिएको छ । विकिपीडियामा समेत शहीद झाको जन्मस्थान धनुषा जिल्लाको जटही र शहादत मिती माघ १५ गते भनिएको छ । यतिमात्र होइन, उनका परिवार अहिले पनि जटहीमै बस्दै आएका छन् ।
२०७६ मा प्रकाशित यो पुस्तक बेगेन्द्र सुब्बा, देवी प्रसाद घिमिरे, रामचन्द्र खनाल र ज्ञानेश्वर निरौलाले लेखेका छन् । पुस्तकको सम्पादन इन्दु खनाल र भाषा सम्पादन चिना कुमारी निरौलाले गरेका हुन् ।
शिक्षाविद् तथा नागरिक समाजका अगुवाहरु भने यो विषयमा नेपाल सरकारले बदनियतपूर्ण काम गरेको र यही कारण भावी पुस्तालाई इतिहासको बारेमा गलत जानकारी हुने बताउँछन् ।
मधेशसँग विभेद गर्दै आएको नेपाल सरकारले अब भावी पुस्तालाई समेत इतिहासबारे गलत जानकारी दिएर भ्रमित गर्न खोजेको नागरिक समाजका अगुवा मुरली मनोहरको ठहर छ।
त्यस्तै युवा अभियन्ता शुशिल कर्णले भने शहीद झाको जन्म धनुषा जिल्लामा भएको हो भन्ने कुरा विभिन्न प्रमाण रहेको अवस्थामा सिरहा उल्लेख गरी सत्तामा बसेकाहरुले मधेशीलाई एक आपसमा जुधाउन खोजेको आरोप लगाएका छन् ।
पत्रकार अवधेश कामत पनि सरकारले बदनियतपुर्ण तरिकाले यस्तो प्रपञ्च रचेको आरोप लगाउँदै इतिहासलाई बङ्ग्याउन खोज्ने लेखकलाई कारवाही गर्नु पर्ने माग गर्छन् । ‘बजारमा बिक्रीका लागि वितरण भइसकेका यस्ता गलत इतिहास, गलत तथ्यसहितको किताब सरकारले तुरन्त संकलन गरी सच्चाउन लगाउनु पर्छ’, कामत भन्छन् ।
हुन त किताब प्रकाशनपछि र बजारमा आउनुअघि नै यस्तो गलत तथ्यबारे समाजिक सञ्जालमा निकै विरोध भएको थियो । तर, सम्बन्धित निकायले यसप्रति कुनै चासो नदिँदा हाल यो किताब बजारमा खुल्ला रुपमै विक्री वितरण भइरहेको छ ।
को हुन् दुर्गानन्द झा ?
नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गानन्द झाकोे जन्म वि.सं. १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटहीमा आमा सुकुमारी देवी झाको गर्भबाट भएको थियो । बाबु देवनारायण झा उनी सानो छँदै बितेका थिए ।
नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययन भारत बिहारको उमगाउँस्थित दिनदयाल हाईस्कुलबाट गरेका थिए । घरको एक्लो सन्तान भएकाले मेट्रिक पढ्दापढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँत उनको विवाह भएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि १८ वर्षको उमेरमा उनी जनकपुरधामस्थित जानकी मन्दिरमा सेना र गुप्तचरका आँखा छल्दै तात्कालिन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेका थिए । सो प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भएपनि राजालाई केही भएन ।
त्यसपछि दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे । यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, कांग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी यातना दिइयो । दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिएका थिए ।
गिरफ्तारपछि महोत्तरीको जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौंको सुन्धारास्थित भद्रगोल जेलमा राखियो ।
सो मुद्दाको छानविन गर्नका लागि पहिलो पटक एक विशेष अदालतको गठन गरिएको थियो । २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो । उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो ।
इतिहासकार एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले उनको जीवनबारे सम्झदै त्यो बेला मृत्युदण्ड दिने कानूनी व्यवस्था थिएन । निरकुंश शासक महेन्द्र शाहले विशेष अदालत मार्फत मुलुक ऐनमा संशोधन गराई २०२० माघ १५ गतेका रुखमा झुण्डयाई फाँसी दिइएको थियो ।
झा ब्राम्हण भएको कारण उनलाई गोली हानेर वा फाँसीको तख्तामा नचढाई रुखमै झुण्डयाई प्राण नगएसम्म सेनाले झाको गलामा बाँधिएको डोरी उतार्दै चढाउँदै गए । मृत्युपछि उनको शव परिवारलाई नदिई राजा महेन्द्रले सेनालाई व्यवस्थापनका लागि दिएको कुरा नेपाली भन्छन् ।
मृत्युदण्डपछि उनको शव परिवारजनलाई नदिइएपछि भारतको गयामा गई कुश शव बनाएर अन्तिम संस्कार गरिएको थियो । उनका अनुसार मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केहीबेर भेटेर सान्त्वना दिए ।
दुर्गानन्दलाई विभिन्न शारीरिक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले टाउको निहरियाउनु भन्दा फाँसीलाई नै शिरोधार्य गरे । माघ १५ गते दुर्गानन्द झाको सम्झनामा कांग्रेस पार्टीले बलदानी दिवस मनाउने गरेको छ । तर, शहीद घोषणा गर्न सकेन ।
अन्ततः शहादतको ५२ वर्षपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई सहीद घोषणा गरियो । सहीद पत्नी काशीदेवी झा अहिले आफ्ना माइतमा आश्रित छिन् । उनलाई न राज्यले कुनै सोधखोज गरेको छ । न कुनै पार्टीले नै ।
अहिले उनका श्रीमान दुर्गानन्द झाले ज्यानको अर्पण गरेको पार्टीले बलिदानी दिवस मनाउनसमेत छाडिसकेको छ । पहिलो संविधानसभामा तत्कालीन तमलोपाबाट समानुपातिक सांसद भएकी काशीदेवी झा कानुन राज्यमन्त्रीसमेत बनेकी थिइन् ।
मन्त्रीबाट हटेपछि न तमलोपा (अहिले जसपा)ले खोजेको छ न कांग्रेसले नै । उनलाई कसैले सोधखोज नगरेपछि उनी अहिले आफ्नो भतिजा डा.जितु ठाकुरसँग बस्दै आएको कुराका उनका आफन्त निरञ्जन झाले बताएका छन् ।
सोही क्षेत्रबाट प्रतिनिधिसभाको चुनावको जितेका तात्कालीन राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुर्गानन्द झाको नामबाट बनेको प्रवेशद्वारमा भर्याङ चढेर माल्यार्पण गर्ने गरेका छन् तर उनकी पत्नीको अवस्था कस्तो हो भन्नेबारे महतोले कहिले पनि सोधीखोजी गरेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया