संसद्

विदेशबाट सहायक मन्त्री आउँदा सरकार थरथर भएर तीन दिन काम ज्वरो हट्‌दैन : ओली

इकागज |
जेठ १२, २०७९ बिहीबार १२:१९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट एउटा सहायक मन्त्री नेपाल आउँदा थरथर भएको बताएका छन् । संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् । सरकारले छद्म विदेश नीति लिएको देखिएको ओलीले बताए । ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’ ओलीले प्रश्‍न गरे ।

'एउटा विदेशबाट सहायक मन्त्री नेपाल आउँदा सरकार थरथर भएर तीन दिन काम ज्वरो हट्‌दैन' ओलीले भने 'कसरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुहुन्छ ?'


'स्कटिङ लिएर एउटा सहायक मन्त्री आउँदा गुम्बा-गुम्बामा कहाँ-कहाँ जाने ? अरे ! कस्तो छिमेक सम्बन्धप्रतिको इमान्दारिता हुन्छ कि हुँदैन ?' ओलीले भने 'मैले आफ्‍नैदेशभित्र जाँदा इजाजत लिएर जानुपर्‍यो । विदेशमन्त्री आएर जाँदा  इजाजत लिएर जानुभयो कि भएन ?'

'चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए' संसद्‌मा बोल्दै ओलीले भने 'त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए । अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले ।'

ओलीले चुनावमा सत्ता गठबन्‍धनले पैसा बाँढेको आरोप लगाए । 'पैसा' प्रलोभन बाँडियो' ओलीले भने 'रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने । 'अमरगढी जितेको छ कि छैन । देउवाको वडामा अब बजेट नजाने भो । अमरगढी नगरपालिकामा पैसा नजाने भो । लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ र ?' ओलीले भने । तर अमरगढी नगरपालिकाको मेयरमा कांग्रेसम डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकी पार्वतीदेवी झुकाल विजयी भएका छन् ।

त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो उल्लेख भएको बताए ।

शब्दमा मात्र जाल बुनेर नीति कार्यक्रम ल्याइएको उनले बताए । 'बुँदा न १३६ ले भ्रष्टाचार गर्ने प्रष्ट छ' उनले भने 'भ्रष्टाचार प्रवद्धन गर्ने भन्‍ने छ, के हो त्यो भनेको ?' 'अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो शब्द छ' उनले भने ।

उनले सरकारको कुनै नीति नभएको आरोप लगाए । उनले सरकार कहाँ पुग्‍ने भन्‍ने गन्तव्य नभएको बताए ।

'सरकार जेरी जसरी गुजिल्टियो । जसको नीति छैन । गन्तव्य छैन कहाँ पुग्‍ने' उनले भने ।

ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो भन्‍दै प्रश्‍न गरेका छन् । 'प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ?' ओलीले प्रश्‍न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्‍ने ?'

ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरिह बनेर बसेको बताए । 'बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह बनेर बस्यो' ओलीले भने 'कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो ।'


Author

थप समाचार
x