संसद्

कांग्रेसमाथि खनिए ओली

इकागज |
जेठ १२, २०७९ बिहीबार १३:६ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तासीन नेपाली कांग्रेसमाथि खनिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली कांग्रेसमाथि खनिएका हुन् । उनले कांग्रेससँग सत्ता भोगबाहेक कुनै नीति र योजना नभएको आरोप लगाए । कांग्रेससँग देशको हितमा कुनै नीति र कार्यक्रम नरहेको ओलीको भनाइ छ । 

'नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति र कार्यक्रम छैन,' ओलीले भने, 'मार्गचित्र हुने कुरै भएन । कांग्रेसँग एमालेले अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई हटाउने आँट पनि छैन । संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाइदिए हुन्छ ।'


उनले कांग्रेसको सरकारमा जाने र कसरी टिकाउने भन्नेमात्रै भन्ने नीति मात्रै रहेको बताए । 'कांग्रेसको नीति नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउनेमात्रै हो,'उनले भने, 'आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने कांग्रेसको खान्दानी सिद्धान्त हो । अर्काको एजेन्डालाई थाहा नपाएजस्तो गरेर उपयोग गर्ने विशिष्ट क्षमता कांग्रेसमै छ । अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त छ ।'


Author

थप समाचार
x