संसद्

युवा बहुल देशमा पूर्वयुवाहरू नै सरकारमा, संसद्‍मा

उपेन्द्र अर्याल |
असार १२, २०७९ ८:२३ बजे

काठमाडौँ - एकथरी तर्क गर्छन्, 'राजनीतिमा युवा वा वृद्ध उमेरले होइन विचारले हुन्छ ।' हुन पनि हो ​संसारभर उमेरले पाका र युवा दुवै समूहका मानिसहरू राजनीतिमा सक्रिय छन् । उमेरले पाका कतिपय नेताहरू विश्व राजनीतिमा सफल पनि देखिन्छन् ।

तर, नेपालको सन्दर्भमा भने नेताहरूले नयाँ विचार र जनआकांक्षा पूरा गर्न नसक्दा उमेर हदबारे बहस हुने गरेको छ। अधिकांश शीर्ष नेताहरू उमेरले मात्रै होइन, विचारले समेत पाका छन् । नेताहरूको विचारमा नविनता र सृजनात्मकता देखिदैन । देशको कार्यकारी पदमा उमेरकै कारण स्वास्थ्य समस्या आउँदा समेत पद ओगटेरै बस्ने नेताहरूको प्रवृत्ति छ ।


देशका प्रशासनिक र संवैधानिक क्षेत्रमा नियुक्त भएका सबै कर्मचारी/पदाधिकारीको अवकाश हुने उमेर ६५ वर्ष संविधानले नै तोकिदिएको छ । तर, राजनीतिमा कुनै उमेर हद छैन । देशको नीति निर्माण गर्ने अधिकांश नेता/सांसदको उमेर ६५ नाघिसकेको छ । संघीय संसद् स्रोतकाअनुसार प्रतिनिधिसभाका सदस्यमध्ये ६० भन्दा बढी सदस्य ६५ वर्ष नाघिसकेका छन् । राष्ट्रिय सभामा पनि १६ सदस्य ६५ वर्षमाथिका छन् ।

प्रतिनिधिसभाका सदस्यमध्ये उमेरका हिसाबले सबैभन्दा वृद्ध महन्थ ठाकुर हुन् । उनी ८० वर्ष पुगिसकेका छन् । जनता समाजवादी पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनले समेत अझै आफ्नो राजनीतिक जीवनको विश्रामबारे खुलाएका छैनन् । उनका राजनीतिक गतिविधिले अझै केही समय राजनीतिमै रहन्छन् भन्ने देखिन्छ । ठाकुरले २०१६ सालबाट नेपाली कांग्रेसमा आवद्ध हुँदै आफ्नो राजनीति यात्रा सुरु गरेका थिए । उनी २०४८, २०६४ र २०७४ मा गरि ३ पटक सांसद् बनिसकेका छन् । २०४८ साल देखि ५१ सम्म उपसभामुख समेत भएका थिए । २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री समेत भएर उनले काम गरिसकेका छन् । 

प्रतिनिधिसभाका ६० बढी र राष्ट्रिय सभाका १६ सदस्य ६५ वर्षमाथिका छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ७० वर्ष लागे । २०२८ सालबाट विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०४५ सालदेखि निरन्तर संसद्मा उपस्थिति जनाइरहेका छन् । २०४८ साल देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य थिए । त्यसपछि लगातार २०५६, २०६४, २०७० र २०७४ सम्म संसद्मा छन् । २०६३ देखि लगातार ७२ सम्म निरन्तर सभामुखको भूमिका निभाएका छन् । लामो समय राजनीतिमा सक्रिय रहेका उनी अझै राजनीतिको केन्द्रमै रहिरहेका छन् । पार्टी अध्यक्ष र देशको कार्यकारी पदमा बसेर काम गर्ने अझै लालसा उनमा देखिन्छ । 

२०२४ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल पनि उमेरले ६९ वर्ष लागे । २०३५ सालमा नेकपा (माले)को संस्थापक केन्द्रीय सदस्य बनेका पोख्रेल २०४७ मा स्थापना भएको एमालेको केन्द्रिय सदस्य बने । २०५४ देखि पार्टीको विभिन्न पदमा बसेर काम गरिसकेका छन् । २०६५ पछि नेपाल कम्युनिष्ट पार्टी बन्नु अघिसम्म पार्टीको महासचिव भएर चलाएका थिए । २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको रुपमा रहेर समेत पोख्रेलले काम गरेका थिए । 

हालसम्म तीन पटक सांसद् बनेर काम गरिसकेका छन् । पोख्रेल २०७४ मा उपप्रधान एवम् रक्षामन्त्री भएका थिए । यसअघि पनि उनी विभिन्न मन्त्रालयमा मन्त्री भएर काम गरिसकेका छन् । अझै उनी पार्टी र देशको प्रमुख कार्यकारी पदमा बसेर काम गर्ने मनसाय सहित राजनीतिमा लागिरहेका छन् । राजनीतिक जीवनको विश्रामबारे उनले केही खुलाएका छैनन् । 

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ६७ वर्ष पुगे । ४९ वर्ष देखि नेपाली राजनीतिमा सक्रिय रहेका उनले पार्टीको महत्वपूर्ण पदमा बसेर थुप्रै जिम्मेवारी पूरा गरिसकेका छन् । २०६२ देखि २०६७ सालसम्म कांग्रेसका उपसभापति बनेका उनी २०६७ मा महामन्त्रीमा निर्वाचित भएका थिए । हालसम्म ४ पटक संसद्मा निर्वाचित भएर आफ्नो भूमिका निभाइसकेका छन् । विभिन्न मन्त्रालयमा ४ पटक मन्त्री र एक पटक उपप्रधानमन्त्री भएर सिंहले काम गरिसकेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि लडेता पनि उनले हार व्योहोरेका थिए । उनीमा अझै पार्टीको नेतृत्व गर्ने र सत्ताको उपभोग गर्ने लालसा देखिन्छ । लामो राजनीतिक सक्रियता पछि पनि उनी अझै पदका लागि कुदिरहेकै छन् । 

महन्थ, सुवास, ईश्वर र प्रकाशमात्रै होइन प्रमुख राजनीतिक दलका शीर्ष नेता सबै सरकारले तोकिदिएको वृद्ध भत्ता खाने उमेरका भइसकेका छन् । नेताहरूले पटक–पटक देश र पार्टीको कार्यकारी पदमा काम गरिसके पनि राजनीतिबाट अवकाश लिनेबारे अझै केही घोषण गरेका छैनन् । युवा भनिएका नेताहरू पनि नेतृत्व तहमा नपुगी अवकाशको उमेरतिर लम्किदै छन् । उनीहरूले ल्याउने नयाँ र फरक विचारलाई शीर्ष नेतृत्वले सुन्दैन । मान्दैन । पार्टीका संरचनाहरूले युवाहरूलाई नेतृत्वमा पुग्ने अवसर नदिएको उनीहरूको बुझाइ छ । 

राजनीतिमा वयवृद्ध नेताहरू धेरै भएकाले देशमा विकासमा वाधा पुगेको विश्लेषकहरूको भनाइ छ । उमेरकै कारण उनीहरूको पढ्ने/लेख्ने काममा रुची नहुने हुँदा नेताहरूको विचारमा नयाँ पन देखिन छाडेको छ । उमेरले वृद्ध हुँदै जाँदा उसको काम गर्ने शक्तिमा ह्रास हुँदै जाने चिकित्सकहरूको भनाइ छ । 

‘प्राकृतिक रुपमा जसरी उमेर बढ्दै जान्छ । त्यसरी काम गर्ने क्षमता घट्दैै जान्छ,’ चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडीन डा. जगदीश अग्रवाल भन्छन्, ‘सोच्ने क्षमता, सृजना गर्ने क्षमतामा केही न केही ह्रास आउँछ ।’ नेताहरूमा पनि एउटा निश्चित उमेर पुगेपछि उनीहरूमा नयाँ विचार आउन छाड्ने भन्दै उनले युवाहरू नेतृत्वमा आउनुपर्ने बताए । 

स्थानीय निर्वाचनमा धेरै युवा उम्मेदवारहरूको विजयीले जनतामा एककिसिमको उत्साह छाएको छ । आउने संघीय निर्वाचनमा पनि विचार र उमेर दुवैमा ‘आउट डेटेड’ भएका नेताहरूलाई हराएर युवालाई ल्याउनुपर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । राजनीतिक विश्लेषक विष्णु सापकोटाले देउवा, ओली र प्रचण्ड लगायतका नेताहरूलाई अब राजनीतिबाट बिदाइ गर्नुपर्ने मत राख्छन् । उनले स्थानीय निर्वाचनमा युवाहरूले ल्याएको मतले आशा जगाएको बताएका छन् ।

‘स्थानीय निर्वाचनमा, खास गरी काठमाडौंका मतदाताले जसरी मै हुँ भन्ने कांग्रेस र एमालेलाई ‘धूलो चटाए’, त्यो हेर्दा जनता आगामी संसदीय निर्वाचनका लागि पनि यस्तै ‘सरप्राइज’ दिन तयार पो छन् कि भनी आशा गर्ने ठाउँ देखिएको छ,’ उनले कान्तिपुर दैनिकमा लेखेका छन् । मतदाताले हस्तक्षेप नगरे फेरि पनि यही असफल नेतृत्व दोहोरिने भन्दै विश्लेषक सापकोटाले चिन्ता व्यक्त गरेका छन् ।

उमेर स्रोत : संघीय संसद् सचिवालयद्वारा प्रकाशित संघीय संसद् सदस्य परिचयात्मक पुस्तिका

यो पनि 

राजनीतिमा ‘ज्येष्ठ नागरिक’को हालीमुहाली, कहिले हुन्छ युवाहरूको बहाली ?

 


 



Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x