संसद्

देश र जनताको पक्षमा बजेट ल्याउँदा विपक्षीलाई अनैतिक लाग्योः अर्थमन्त्री  शर्मा

इकागज |
असार १३, २०७९ सोमवार १६:१६ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । 

सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । 


उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे । 

उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाकं वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औधोगिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे । 

उनले भने, ‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने,यति गरिबी हटाउने,मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरू छन् । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुनेबाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो कि गलत थियो त्यतिबेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । इतिहासले पुष्टि गर्ने छ । त्यसप्रति म जवाफदेही छु । मैले गरेका निर्णयहरूमा पूर्णरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु ।’

अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गरे । 

मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भरता,गरिबी कम गर्ने र व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए । 

उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताए । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे । 

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानुनहरूलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताए । 


Author

थप समाचार
x