संसद्

सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन सकेनः सांसद श्रेष्ठ

इकागज |
असार २०, २०७९ सोमबार १४:५८ बजे

काठमाडौँ - नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । 

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताएका हुन् । 


मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । 

मन्त्रीहरु मल लिनका लागि भनेर विदेश गएपनि त्यहाँ गएर भूमाफियाहरुको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उनले बताए । 

उनले भने, ‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बीउ समयमै ल्याएपछि त नेपाली जनताको उत्पादन वृद्धि हुन्छ र नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् । त्यसप्रति विदेशबाट आउने चामल मित्र राष्ट्र होस् वा बाहिर देशबाट आउने त्यस्ता खालका कृषिजन्य उपजहरु नेपालमा त्यसैपनि आयातमा प्रतिस्थापन हुन्छन् । तर नेपालमा त्यो गर्न चाहिँदैन, किनभने यो त खालि घुम्नका निम्ति, त्यहाँ गएर कुन–कुन भूमाफियाहरु सँग संगत हुन्छ । अथवा त्यहाँको सरकारी पक्षसँग संगत हुन्छ । उहाँहरुको कमिसनको चक्करमा मन्त्रीज्यूहरु डुबेर आउने गर्नुहुन्छ र यहाँ ढाँटेर सदनमा प्रस्तुत गर्नुहुन्छ कि नेपालमा जति चाह्यो त्यति मल आउँछ अब तपाईहरु ढुक्क हुनुस् ।’

उनले वर्तमान सरकार देश र जनताप्रति बफादार नभएको भन्दै सरकार रहुञ्जेल देशलाई बर्बादीमा पु¥याउने बताए । सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उनले बताए । 
 


Author

थप समाचार
x