संसद्

यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छः उपसभामुख भुसाल

इकागज |
साउन १९, २०७९ बिहीबार १३:४६ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संसद्‍को यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअिभयोग अघि बढ्ने बताएकी छन् । प्रतिनिधि सभाको आगामी बैठकमा कार्यसूची राख्ने र संसद्‍मा छलफल गरी महाअभियोग समितिमा संसद्‍बाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने उनले बताइन् । 

उपसभामुख भुसालले संसद्‍बाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन्। जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसद्‍मा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । 


‘संसद विघटनको कुनै सम्भावना छैन । संविधानले विघटनको परिकल्पना गरेको छैन,' उनले भनिन्, 'महाअभियोग प्रस्ताव दर्ता भयो, यसलाई संसद्‍बाटै छलफल गरेर सुझावसहित जानुपर्छ । महाअभियोग विशेष समिति पनि गठन भइसकेको अवस्था छ । समितिले आफ्नो काम सुरु गर्नुभन्दा अगाडि नै संसदभित्र छलफलको विषय बनाउनु पर्छ । अब छिटै यो विषयलाई संसद्‍मा छलफलको विषय बनाएर कार्यसूचीमा राखी अघि बढाउनुपर्छ । यही अधिवेशनमा कार्यसूचीमा आएर यो विषय अघि बढ्छ ।’

उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसद्‍को आयु रहने बताइन् । उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसद्‍को आयु रहने तर्क गरिन् ।
 
 


Author

थप समाचार
x