संसद्

खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था गराउन सांसद गुरुङको माग

इकागज |
साउन २३, २०७९ सोमबार १३:५७ बजे

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरूलाई शिक्षक, कर्मचारीहरूलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरू पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । सांसद गुरुङले युवाहरूलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरूको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याइन् ।


‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरू पनि बनेका छन । यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ । एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्ब ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ' उनले भनिन् 'मैले यहाँ बजेटको कुरा गरेको होइन, केवल हाम्रो सरकारले जनसंख्याको सबैभन्दा हिँस्सा ओगटने युवा र तिनको विकासमा खेलकुदको भूमिकालाई कति महत्व दियो भनेर उदाहरणको रुपमा बजेटको कुरा गरेकी हुँ '।

'विज्ञान र प्रविधिले आश्चर्यजनक ढंगले विकास गरिरहेको छ । कम्प्युटर, इन्टरनेट तथा मोबाइलको प्रयोग बढिरहेको छ । यी साधनहरू युवा अत्यन्तै नजिकका साथी बनिरहेका छन । तर यी साधनहरूको प्रयोगले हाम्रो देशका युवाहरूको हिस्सा बर्बाद पनि हुँदै गइरहेको छ । यसबाट मुक्त गर्न युवाहरूलाई खेल क्षेत्रतर्फ आकर्षित गर्ने नीति हुनुपर्दछ । युवाहरूको व्यक्तित्व विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । खेलकुदले हाम्रो शरिरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँदछ' उनले भनिन् ।

'मानसिक तनावबाट मुक्ति दिलाउँछ । खेलकुदले एकअर्कासँग मिलेर काम गर्ने बानीको विकास गराउँछ । राष्ट्रप्रतिको प्रेमलाई प्रगाढ बनाउँछ । अझ अन्तराष्ट्रिय स्तरमा हुने खेलकुदको सहभागिताले राष्ट्रको मान, सम्मान र इज्जत बढाउँछ । हामी देखिरहेका छौं । जुन देश विकसित छन, ती देशहरू खेलकुदमा पनि धेरै अघि छन र, समृद्ध पनि छ । त्यसैले खेलकुद राष्ट्रका समृद्धि र विकासका लागि परिचायक पनि हो । खेलकुदको माध्यामबाट पनि पर्यटक भित्रयाएर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ' उनले भनिन् 'खेलकुद युवाहरूको मात्र विषय होईन । बालबालिकादेखि युवा, वृद्ध सबै उमेरका मानिस आफ्नो उमेर । अवस्था अनुसार खेलकुदमा सहभागी हुन्छन । यस अर्थमा खेलकुदप्रतिको आकर्षण बढाउन पर्दछ । खेल मैदानहरू र खेलका साधनहरू व्यापक बनाउनु पर्दछ । खेलाडीहरूको सम्मान गरी उनीहरूको हौसला बढाउनु पर्दछ । सबै उमेर र समुहको आधारमा विभिन्न स्तरमा खेलकुदको प्रतियोगिताको आयोजना गरिनु पर्दछ । खेलाडीहरूलाईं पेन्सन दिने व्यवस्था गर्न म सरकारको गम्भिर ध्यानकर्षण गर्दछु ।’

सांसद गुरुङले युवाहरूलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भएपनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गरिन् ।


Author

थप समाचार
x