संसद्

प्रतिनिधिसभा बैठक संसद् भवन बाहिर पनि गर्न सकिने

इकागज |
माघ २६, २०७९ बिहीबार १९:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठक संसद् भवन बाहिर पनि गर्न सकिने भएको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउनेगरी नियमावलीमा नै स्पष्ट व्यवस्था गरेपछि प्रविधिबाट बैठक सञ्चालनको बाटो खुलेको हो । मस्यौदा समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले कम्तीमा एक चौथाइ सदस्यको सहमतिमा भर्चुअल बैठक बस्न सकिने प्रावधानसहितको व्यवस्थालाई सर्वसम्मति पारित गरेको हो ।


भर्चुअल बैठक अनुमतिको सम्पूर्ण विशेषाधिकार भने सभामुखमा निहीत राखिएको छ । बैठकको कार्यविधि सभामुखले निर्धारण गरे बमोजिम हुने भन्ने व्यवस्था प्रस्तावित नियमावलीमा गरिएको छ । एक चौथाइ सदस्यको सहमति पछि कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्णय गर्नसक्ने व्यवस्था नियमावलीमा गरिने भएको हो ।​

कोभिड महामारीको समयमा संसद् बैठक बस्न सकेको थिएन । विश्वका कतिपय मुलुकले तत्काल संकटकालीन आवश्यक नियमावली बनाएर संसद्‍को बैठक सञ्चालन गरी महामारी नियन्त्रणका लागि सरकारलाई आवश्यक ऐन नियम बनाएका थिए । तर, नेपालमा भर्चुअल संसद् बैठक बस्नका लागि नियमावलीमा व्यवस्था नभएका कारण प्रविधिबाट बैठक सञ्चालन भएको थिएन ।

भर्चुअल बसेका समितिका बैठकहरूले पनि वैधानिकता पाएका थिएनन् । नियमावलीमा गर्न लागिएको यो व्यवस्थाले भौतिक रूपमा संसद् बैठकमा उपस्थित हुन नसक्ने स्थितिमा पनि बैठक सञ्चालनको बाटो खुल्नेछ ।

नियमावलीले संसद् र मिडियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै संसदीय कारबाहीलाई पारदर्शी बनाउने उद्देश्यसाथ लबि रिपोर्टिङको व्यवस्था मिलाउने किसिमको प्रावधान राखिएको छ । मिट द प्रेस भनेर सभाभित्रै एउटा कक्ष बनाउने प्रस्ताव समितिमा उठे पनि भिन्नै कक्ष निर्माण गर्ने कुरा प्रस्तावित नियमावलीमा लेखिएको छैन । तर, ‘सञ्चारकर्मीसँगको भेटघाट र लबि रिपोर्टिङको आवश्यक व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरिने भएको छ ।

यसअघि भौतिक उपस्थितिबिना प्रविधिमार्फत बैठक सञ्चालन र लबि रिपोर्टिङको व्यवस्था नियमावलीमा उल्लेख गरिएको थिएन ।


Author

थप समाचार
x