संसद्

बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै उपसभामुखको असन्तुष्टि

इकागज |
फागुन १६, २०७९ मंगलबार १८:५१ बजे

फाइल तस्बिर

 काठमाडौं- उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले बैठकमा खाली सिट देखिन थालेको बताइन् । उनले प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको उल्लेख गरिन् ।


उपसभामुख रानाले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने जिकिर गरिन् । उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गरिन् ।

उपसभामुख रानाले संसद्‍मा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन् । 

उनले भनिन्, ‘तपाईंहरू लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खाली खाली सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु ।'

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । आफू उपसभामुखका रूपमा काठमाडौंमा मात्र नबसी जनताका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने उनले उल्लेख गरिन् ।


Author

थप समाचार
x