संसद्

साइबर अपराधविरुद्ध मुद्दा दर्ता गराउन काठमाडौं आउनुपर्ने व्यवस्था अन्त्य हुनुपर्छ : उपाध्यक्ष अर्याल

इकागज |
फागुन २३, २०७९ मंगलबार १६:३५ बजे

काठमाडौं– राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले साइबर अपराधविरुद्धकाे मुद्दा दर्ता गराउन काठमाडौं नै आउनुपर्ने प्रावधान गलत भएको बताएकी छन् । 

मंगलबार महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले ११३ औँ अन्तर्राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा साइबार अपराधसम्बन्धी आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले यस्ताे टिप्पणी गरेकी हुन् । 


उनले साइबर अपराधविरुद्धको मुद्दा काठमाडौंमा मात्र दर्ता हुने व्यवस्थाले साइबर पीडितलाई थप पीडा दिएको बताइन् । राज्य डिजिटल प्रविधिबाट गरिने अपराधविरुद्ध संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ थियो । 

‘डिजिटल प्रविधिको पहुँचमा विस्तार हुनुपर्छ भन्ने कुरा एक ठाउँमा छ । तर, यसले कतिलाई आक्रान्त पारिरहेको छ,’ उनले भनिन्, ‘साइबर अपराधविरुद्धको मुद्दा काठमाडौंमा मात्र हुन्छ, बाहिर हुँदैन भन्ने कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।'

पीडितले आफ्नै ठाउँबाट पनि साइबरविरुद्ध जाहेरी दिन पाउने प्रावधान ल्याउन आफूले सकेको पहल गर्ने बताउँदै उनले भनिन्, ‘यसका लागि मैले आफ्नो ठाउँबाट कति सक्छु पहल गर्ने छु । उस्तै परे आइजीपी साहेब, गृहमन्त्रालयलगायत विभिन्न निकायसँग भेटेर यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराउने छु ।’

त्यस्तै, उनले आमाको नामबाट सहजै नागरिकता नपाइने संवेदनशीलतालाई आफूले गम्भीर रूपमा लिएको बताइन् । नागरिकता पीडितहरूको दुःख देख्दा आफूलाई पनि रुँरुँ लाग्ने गरेको सुनाइन् । जिम्मेवार पदमा आसिन व्यक्तिहरू संवेदनशील नभइदिँदा पीडितहरूले नागरिकता नपाएको उनको ठम्याइ थियो । 

‘कहिलेकाहीँ के हुँदोरहेछ भने महिला अधिकारको कुरा गरिरहँदा संवेदनशील पदमा बस्ने व्यक्तिले आफ्नो पदको मर्यादाअनुसार काम गर्न नसक्दा अत्यन्त पीडा हुन्छ,’ उनले भनिन् । 

निर्णायक पदमा हुने व्यक्तिहरू गम्भीर नभइदिँदा एकदमै सरल ठाउँमा पुगिसकेको उपलब्धि देशले गुमाउनु परेको उनकाे ठहर छ । नयाँ संसद्ले नागरिकता विधेयकलाई छिट्टै पारित गरेर कानुन बनाउनेमा आफू आशावादी मात्र नभइ विश्वस्त गरेको उनकाे भनाइ छ । 

‘त्यो विधेयक संसद्‍मा लैजानुपर्छ भन्ने विषयमा जुन जुन दलहरूबीच समझदारी थियो, अहिले त्यो शक्ति फेरि एकजुट भएको छ,’ उनले भनिन्, ‘त्यसैले नागरिकता विधेयक छिट्टै पारित भएर कानुन बन्छ भन्नेमा म आशावादी र विश्वस्त दुवै छु ।’

‘मबाट महिलावाद’ मुल नारा रहेको उक्त कार्यक्रममा काठमाडौंका विभिन्न कलेजमा कानुन पढ्ने विद्यार्थीले साइबर अपराधसम्बन्धी कविता, नाटकलगायतका सामग्री प्रस्तुत गरेका थिए । 

त्यस्तै, मुल नारामा रहेर स्ट्यान्डअप कमेडियन सीता न्यौपाने र गायिका समृद्धी राईले पनि आफ्नो प्रस्तुति दिएका थिए ।


Author

थप समाचार
x