संसद्

दलहरूमा संविधान प्रयोगको ढंग पुगेन : अध्यक्ष तिमिल्सिना

इकागज |
फागुन २४, २०७९ बुधवार १४:४२ बजे

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

बुधबार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलहरू आफू ठीक ढंगले नचल्ने तर दोष संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने जिकिर गरे ।


सरकार अफ्ठयारोमा पर्दा संसद् विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनकाे भनाइ छ । तिमिल्सिनाले नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसद्‍बारे अहिले विरोधाभाष भइरहेको बताए । उनले सरकार सञ्चालन गर्नेहरूले ढंग पुर्‍याएर संसद् चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाेजेको आरोप समेत लगाए ।

अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद् विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरूले नै अन्देखा गर्ने गरेको बताए । उनले केही राजनीतिक दलहरूले संसद् विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रूपमा लिइरहेको उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताए । उनले राजनीतिक दलहरूले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले सामुदायिक वनमाथि स्थानीय, प्रदेश र संघीय सरकार गरी तेहेरो कर लगाइरहेको आरोप लगाए । वन व्यवस्थापन र उपभोक्ताहरू तेहेरो करको मारमा परेको उल्लेख गर्दै घाँसमा कर लगाएर राज्य धनी हुन्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x