संसद्

संक्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक संसद्‍मा दर्ता गरिने

इकागज |
फागुन २५, २०७९ बिहीबार १४:३० बजे

काठमाडौँ- सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक संघीय संसद्‍मा दर्ता गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ उक्त विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी विधेयकलाई अघि बढाउने जानकारी दिइन् ।


शान्ति प्रक्रियाका बाँकी काम ६ महिनाभित्रै सक्ने भनिए पनि विभिन्न कारणले ढिलाइ भएकाले अब यसलाई तीव्र रूपमा अघि बढाइने उनले बताइन् । प्रवक्ता शर्माले शान्ति सम्झौताका विषयलाई अदालतको विषय बनाउने काम उचित नभएको जिकिर गरिन् ।

अघिल्लो सरकारले अघि बढाएको विधेयक संसद्को कार्यकाल समाप्त भएपछि निष्कृय भएका थिए । मन्त्रिपरिषद्ले खाद्य पदार्थमा जीवाणुनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । 


Author

थप समाचार
x