संसद्

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?

इकागज |
चैत ६, २०७९ सोमबार १५:२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताउनुभयो ।
 
'सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरू किन भाग्नुभयो ? सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?' उनले प्रश्न गरे ।​


सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उनले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउँदै आएको स्पष्ट पारे । 

'फेरि पनि यो देशमा सहमतिको आवश्यकता छ । जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी छ । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुभएको हो,' उनले भने ।
 
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उनले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।


Author

थप समाचार
x