संसद्

प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक १७२ सांसदले दिए विश्वासको मत

इकागज |
चैत ६, २०७९ सोमबार १७:३६ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ सय ७२ सांसदले विश्वासको मत दिएका छन् । सोमबार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो ।

मतदानमा २६२ सांसद उपस्थित थिए । दाहालको पक्षमा १ सय ७२ मत छ भने उनको विपक्षमा ८९ मत परेको छ । र, तटस्थ एक मत रहेकाे छ ।


प्रधानमन्त्री दाहाललाई गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिएका छन् । गठबन्धन बाहिरको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिएको छ । 

यसैगरी नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको दिएनन् । एमाले र राप्रपाले दाहालको विपक्षमा मत हालेका छन् भने नेमकिपा भने तटस्थ बसेको छ । 

यसअघि पुष २६ मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा दाहाललाई २ सय ६८ सांसदले मत दिएका थिए । त्यसबेला दाहाललाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका थिए । 

 त्यसबाहेक दाहाललाई प्रधानमन्त्रीमा समर्थन नगरेको दल कांग्रेसले पनि विश्वासको मत दिएको थियो भने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेका थिए । 


 


Author

थप समाचार
x