संसद्

ओलीजीले भन्नुभएको छ तपाईं वैशाखसम्मका लागि हो : प्रधानमन्त्री दाहाल

इकागज |
चैत ६, २०७९ सोमबार १७:२९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरूलाई छोडेको बताए । उनले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरूमा छोडेको पनि बताए ।


उनले भने, ‘त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टी लबिमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाईलाई पुष्टि गर्ने कि हामीहरू सबैको हातमा छ ।’

प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताए । उनले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाब राख्न आग्रह गरे ।

उनले भने, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर । मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाव राख्नुहोला ।’

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पारे । उनले एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताए ।  
 


Author

थप समाचार
x