संसद्

पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा अशोक राईको आपत्ति

इकागज |
चैत १२, २०७९ आइतबार १४:३३ बजे

फाइल फोटो

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भई ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादती रोक्न सरकारसँग माग समेत गरे । 


गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरुमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता खालका घटना नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद राईले भने, ‘प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि सो नामको विरोधमा प्रचण्ड, तीव्र विरोध र संघर्षको कार्यक्रम चलिरहेको कुरा सर्वविदित छ । यही विरोध कार्यक्रमको शिलशिलामा गएको चैत्र ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण विरोध प्रर्दशनमा बर्बर ढंगले प्रहरीको प्रहार हुने अवस्था देखियो । र, सो दिन प्रर्दशनकारीहरु मध्ये यो संयुक्त संघर्ष समितिका एक जना सक्रिय नेता पदमकुमार लिम्वुको उहाँ संघीय लिम्बुवान मञ्चका नेता पनि हुनुहुन्थ्यो । उहाँको टाउँको गम्भीर ढंगले लाठी प्रहार हुन गएको थियो । र, उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १० गते २ बजेर ४५ मिनेट जाँदा उहाँले सहादत प्राप्त गर्नु भएको छ । उहाँले देहत्याग गर्नु भएको छ । यो अत्यन्तै दुखद र गम्भिर घटना हुन गएको छ । यसप्रति सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश नम्बर १ को सरकारो समेत ध्यानाकर्षण गराउन चाहन्छु । मृतक सहिद पदमकुमार लिम्वुप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दछु । र, परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु । यस किसिमका दुखद घटनाको श्रृखंलाको अन्त कहीँ पनि भइरहेको छैन । संविधान जारी गर्ने शिलशिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन भनिन्छ । त्यो शिलशिलामा ५९ जना सहीद भएका थिए । उनीहरूले आफ्नो अधिकारका निम्ति जीवन बलिदान गरेका थिए । त्यो श्रृंखला रोकियोस् भन्ने हाम्रो चाहना हो । शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार माग्नु, आफ्नो पहिचान माग्नु उसको नैसर्गिक अधिकार हो । गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्बुको हत्या हुनु अन्त्यन्तै दुखद छ । निन्दनीय छ । तसर्थ, यस किसिमको ज्यादती रोक्न, अन्त्यका गर्नका निम्ति सरकारलाई म आग्रह गर्न चाहन्छु ।’

संघीय लिम्बुवान मञ्चका नेता समेत रहेका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो । उनले चैत्र १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो ।


Author

थप समाचार
x