संसद्

हाम्रा स्कुलका पाठ्यक्रममा ग्यास कसरी बाल्ने भनेर सिकाइँदैन : चन्द्र भण्डारी

इकागज |
जेठ १०, २०८० बुधवार १४:४९ बजे

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले स्कुलका पाठ्यक्रममा ग्यास, बिजुलीलगायत संवेदनशील वस्तुहरू कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी नभएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भण्डारीले अन्य देशमा संवेदनशील वस्तुहरू चलाउनेबारे स्कुलकै पाठ्यक्रममा समावेश हुने बताए । 

‘गत वर्ष जलनका कारण ११० जनाले मृत्युवरण गर्नुभयो । जलनको केस देशभरी फैलिएको छ । हामीले विज्ञानको विकास गर्यौँ । गाउँ गाउँमा ग्यास, बिजुली र बस पुग्यो,’ उनले थपे, ‘तर, हामीले के गर्नुहुन्छ, के गर्नुहुँदैन भनेर पाठ्यपुस्तकमा राख्न सकेनौँ ।’


उनले अगाडि भने, ‘विश्वमा बच्चाहरूले स्कुल जाँदा बाटो कसरी क्रस गर्ने, ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने आदि स्कुलमै पढ्न पाउँछन् । हाम्रा विज्ञ, हाम्रा पाठ्यक्रमको यसबारे कसैले ध्यान गएन ।’

गत पुस ३ गते भण्डारीको घरमा ग्यास विस्फोट हुँदा उनकी आमाले ज्यान गुमाएकी थिइन् । भण्डारी भने गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि भारत लगिएको थियो ।


Author

थप समाचार
x