संसद्

पशुपतिको जलहरी निर्माणमा महालेखा परीक्षकको प्रतिवेदनले पनि प्रश्न उठाएको थियो

इकागज |
जेठ १२, २०८० शुक्रबार १५:९ बजे

काठमाडौँ– नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलरीलाई पित्तलको भनेर सत्ता पक्षले आरोप लगाएको भन्दै शुक्रबार संसद् अवरोध गरेको छ । एमालेले विनाआधार आरोप लगाइएको भन्दै नाराबाजी गरेपछि संसद् बैठक नै स्थगित भएको छ । तर, पशुपतिको जलहरीको विषयमा महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले समेत सुनको विवरण नमिलेको भन्दै प्रश्न उठाएको थियो । उक्त प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरेको बताएको छ । 

‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रु ८० करोड ११ हजारमा खरिद गरेको छ,’ महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा लेखिएको छ, ‘विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ ।’


प्रतिवेदनमा लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।’

रिङ बनाउन प्रयोग भएको सुनको विवरण भने पेस नभएको भन्दै महालेखाको प्रतिवेदनले प्रश्न गरेको हो ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रु ७ करोड ८६ लाख ४६ हजार रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राखिएको सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै संसद्‍मा अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति निराधार रहेको भन्दै एमालेले संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।


 


Author

थप समाचार
x