संसद्

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

इकागज |
जेठ २१, २०८० आइतबार १४:२९ बजे

काठमाडौँ- राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सदस्यका रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।


आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले शपथ लिएसँगै कार्यभार समेत समालेकाे बताए । उनले राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए । उनले ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था रहेको पनि उल्लेख गरे ।

प्रवक्ता फुयालले ५ जना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेर नियुक्त भएको जनाए । उनले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताए ।

उनले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरूलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरूको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताए । उनले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत् छलफल गरेर अगाडि बढ्ने बताए ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षका रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । आयोगको सदस्यहरू डा. रामकुमार फुयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । आयोगले सदस्यहरूलाई विभिन्न जिम्मेवारी समेत दिएको छ । जसमा सदस्यहरू डा. फुयाललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारीे डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वागमती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै वागमती प्रदेशको जिम्मेवारी दिइएको छ । 
 


Author

थप समाचार
x