संसद्

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय समिति बनाएर छानबिन गर्न एमालेको माग

इकागज |
जेठ २३, २०८० मगलवार १४:४३ बजे

काठमाडौँ– नेकपा एमालेले सरकारले ल्याएको बजेटमा करको दर हेरफेरमा विचौलियाको प्रभाव परेको आशंका भएको भन्दै संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग राखेका हुन् ।  

‘अर्थमन्त्रीले रोष्ट्रममा आएर चित्तबुझ्दो गरी जवाफ दिनुपर्यो होइन भने संसदीय छानबिन समिति बनाएर यसलाई छानबिन गरेर अगाडि बढ्नुपर्छ,’ सांसद गिरीले भने ।


बजेट बनाउने ठाउँमा निश्चित मान्छेहरू त्यहाँ बस्ने प्रावधान गरिएको भएता पनि मन्त्रीका स्वकीय सचिवदेखि अन्य अनधिकृत व्यक्तिहरूले प्रवेश पाएको भन्दै गुनासोसमेत गरे ।

‘बजेट भाषण हुँदै थियो । त्यसको अघिल्लो दिन मध्य रातमा त्यहाँ विचौलियाहरू लाने काम भएको छ र ती विचौलियाहरूलाई राखेर करको दर तलमाथि पार्ने काम भएको छ भन्ने हामीले सुनिरहेका छौँ,’ उनले भने, ‘जब बजेट बन्दै गर्छ, त्यो बजेट बनाउने ठाउँमा निश्चित मान्छेहरू त्यहाँ बस्ने प्रावधान गरिएको हुन्छ । तर, त्यहाँ मन्त्रीका स्वकीय सचिवदेखि अन्य अनधिकृत सबै खालका मान्छेहरू भित्र बाहिर गरिरहेका हुन्छन् ।’ 

त्यहाँ कुनै गोपनीयता कायम गरिएको हुँदैन भन्दै आक्रोश पोखे ।  महँगा गाडीमा अन्तःशुल्क, भन्सार शुल्क नबढाइने र मध्यम वर्गले चढ्ने गाडीमा भने बढाएको भन्दै उनले प्रश्न गरे । ‘जहाँ भन्सार शुल्क बढाइएको छ,’ उनले भने, ‘ती गाडीहरू ११ सय गाडीहरू बजेटको केही दिन अगाडि बढाइन्छ । भन्सार शुल्क कम बढाइएको गाडीहरू ल्याइएको हुँदैन । यसले धेरै ठूलो आशंका गर्ने ठाउँ देखिन्छ ।’ 


Author

थप समाचार
x