संसद्

नेपालमा सहकारी बैंक खोल्न अनुमति दिनुपर्‍यो : सांसद निधि

इकागज |
जेठ २३, २०८० मंगलबार १७:४५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भए पनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गरेका हुन् ।

उनले सहकारी बैंक खोल्न न्यूनतम ५०० जना सेयर होल्डर हुनुपर्ने प्रावधान अनुरूप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भए पनि राष्ट्र बैंकले पूर्वस्वीकृति नदिँदा काम रोकिएको बताए । उनले हाल एउटा मात्रै सहकारी बैंक रहेको अवस्थामा त्यसको एकाधिकारलाई अन्त्य गरी प्रतिष्पर्धी बनाउन आवश्यक रहेको जिकिर गरे ।


उनले सहकारीहरूको राम्रो व्यवस्थापन गर्न सके अर्थतन्त्रको तरलताको समस्या र रोजगारीको समस्या हल गर्न सकिने बताए ।

सांसद निधिले मधेश प्रदेशमा सिँचाइको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने तथा संविधान र संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले राष्ट्रपतिले संविधानसम्मत रूपले नागरिकता विधेयक प्रमाणीकरण गरेको उल्लेख गरे ।

 


Author

थप समाचार
x