संसद्

गोकुल बास्कोटाले अर्थमन्त्रीको पक्षमा बोल्दै भने– उहाँलाई बलीको बोको बनाउन खोजिएको थियो, उम्कनुभयो

इकागज |
जेठ २४, २०८० बुधबार १४:२३ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले करका दर हेरफेर विवादमा अर्थमन्त्री प्रकाशशरण महत निर्दोष रहेको जिकिर गरेका छन् । संसदमा जारी बजेटमाथिको छलफलमा सहभागी हुँदै बास्कोटाले अर्थमन्त्री महतको पक्षमा बोल्दै बचाउ गरे । 

बास्कोटाले अप्रत्यक्ष रूपमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले यसपालिको बजेट निर्माणमा पनि हस्तक्षेप गरेको आरोप लगाए । ‘धन्यवाद छ, अर्थमन्त्रीज्यूलाई । कम्तीमा यसपालि अर्थ मन्त्रालयमा मुसो पसेन,’ उनले भने, ‘कागज गडबड भएछ, त्यो पनि एउटैको काम हो । पहिला जसले हुलेको थियो, अहिले त्यसैले हुलेको हो । उहाँ आउनुभन्दा अगाडि हुलिएको थियो । त्यही सूचना छ ।’


अर्थमन्त्री बलीको बोको हुनबाट जोगिएको बताउँदै उनले भने, ‘उहाँलाई बलीको बोको बनाउन खोजिएको थियो, उम्कनुभयो । हाम्रो समर्थन छ ।’

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको क्रममा अर्थमन्त्री महतले करका दर हेरफेरमा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई संलग्न गराएको प्रमुख प्रतिपक्षी एमालेसहित अन्य दलको आरोप थियो । बुधबारको बैठकमा भने बास्कोटाले अर्थमन्त्रीलाई फसाउन खोजिएकाले उनलाई आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पारे । 


Author

थप समाचार
x