संसद्

पशुपतिमा सुनको जलहरी निर्माणमा भएको भ्रष्टाचारको विषय संसद्‌मा छलफल हुनुपर्छ : रामहरि खतिवडा

इकागज |
जेठ २६, २०८० शुक्रबार १३:३ बजे

काठमाडौँ–कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिको सुनको जलहरी निर्माण प्रक्रियामा १० किलो सुन गायब भएको विषय संसद्‌मा छलफल हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका छन् ।

‘महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो ९ सय २४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ,’ उनले भने, ‘त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राममात्रै  प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम बेपत्ता भएको भन्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यो कुरा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिइएको हो । त्यो बोल्दा संसद्‌मा रेकर्ड हटाउने कुराको म विरुद्धमा छु । यी कुरा बोल्दा संसद्को रेकर्डबाट हट्छ भने पनि जनताको मनबाट हट्दैन । यो विषय संसद्‌मा छलफल हुनुपर्छ ।’


सांसद खतिवडाले संसद्‌मा छलफल हुने विषयवस्तु रेकर्डबाट हटाउने परम्परा पनि अन्त्य हुनुपर्ने बताए । ‘कसैको सत्ता पाउने नपाउने आवेगको केन्द्र संसद नबनोस्,’ उनले भने, ‘संसद्‌मा छलफल हुने विषयवस्तु रेकर्डबाट हटाउने परम्परा अन्त्य होस् । हामी संसद्लाई सार्वभौमसत्ता सम्पन्न संसद् बनाउन चाहान्छौँ ।’ 
 


Author

थप समाचार
x