महिला सांसदको अभिव्यक्तिले सदनको गरिमा बढेको छ : मन्त्री गुरुङ
काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदनमा महिला सांसदहरूले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको टिप्पणी गरेका छन् । शुक्रबार संसद् भवनमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले महिला सांसदहरूले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको जिकिर गरे । उनले महिलाहरूले विषयको गम्भीरतालाई बुझेर मेहनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । पुरुष सांसदहरूले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसदको गरिमा बढ्ने उनको भनाइ छ ।
‘महिला माननीय ज्युहरूको भूमिकाले संसद् तिखारिँदै गएको छ । अझै पनि उहाँहरूको भूमिकाले तिखारिँदै जानेछ जस्तो मलाई लाग्छ । कहिलेकाहीँ हामीले बोल्दा पछि पश्चताप लाग्छ, छेउ न टुप्पोको कुरा बोलेँ कि जस्तो मलाई पनि लाग्छ, पश्चताप हुन्छ,’ उनले भने, ‘तर, महिला दिदीबहीनीहरूले राम्रो कुरा बोल्नु हुन्छ । गम्भीर कुरा गर्नुहुन्छ, मेहनत गरेर बोल्नुहुन्छ । हामी खासै मेहनत गर्दैनौँ, जसले कहिलेकाहीँ छेउ टुप्पो मिल्दैन । हामीले बालेको कुरा कति प्रचार हुन्छ त्यो महत्वपूर्ण होइन, हामीले बोलेको कुराले संसदको गरिमा कति बढ्छ त्यो महत्वपूर्ण हुन्छ ।’
संसदमा बोल्दै गर्दा विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको उनको भनाइ छ । उनले आफू संसद् तेस्रो पटक आए पनि आफू संसदको विद्यार्थी रहेको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया