संसद्

सुन तस्करी प्रकरण

उच्च स्तरीय छानबिन समितिबारे सत्तापक्ष र प्रतिपक्षबीच मत बाझिँदा संसद् बैठक अन्याेल

इकागज |
साउन १५, २०८० सोमबार १७:३ बजे

काठमाडौँ– प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ । 

उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारूढ दल र प्रतिपक्षी दलबीचमा विषय नमिल्दा सोमबार प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन ।


बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग रहेको बताए । ‘उच्च स्तरीय छानबिन समिति बनाएर त्यसबाट आएका निष्कर्षको आधारका आवश्यक कारबाही गर्न एमालेले सघाउने छ,’ सांसद बास्कोटाले भने ।

सरकारले सहमतिका लागि एक दिनको समय माग गरेकाले सोमबारको बैठक स्थगित भएको उनले बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले राजस्व अनुसन्धान विभागले नै छानबिन समिति गठन गरेको अवस्थामा उच्चस्तरीय समिति गठन गरे अनुसन्धान नै कमजोर हुने बताए । राजस्वलाई विश्वास नगरी अर्को समिति बनाउनु जायज नभएको उनको भनाइ छ ।

एमालेले आफ्नो अडान कायम रहँदा सदन अवरुद्ध हुन पुगेको आरोपसमेत सांसद सापकोटाले लगाए । गृहमन्त्रीले जवाफ दिएर सदन चलाउने सहमतिबाट एमालेले नमानेको समेत उनले आरोप लगाए । 

त्यस्तै कांग्रेसका सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरियामात्रै नभई मालिकलाई समेत पक्राउ गर्नुपर्ने बताए । सांसद खतिवडाले सुन प्रकरणको छानबिन गर्नुपर्ने र गृहमन्त्री तथा अर्थमन्त्रीले यस विषयमा सदनमा जानकारी गराउनुपर्ने बताए । 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी र सरकारबीच कुरा नमिल्दा सदन अवरुद्ध हुन पुगेको बताए । अहिलेकै अवस्थामा मंगलबार पनि सदन चल्ने सम्भावना नदेखिएको उनको भनाइ छ । 
 


Author

थप समाचार
x