एमालेले संसद् बैठक अवरुद्ध पार्नु हुन्न : विश्वप्रकाश शर्मा
काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठक अवरुद्ध पार्ने काम नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन् ।
सुन प्रकरणलगायतका जनताका तमाम प्रश्नहरूको जवाफ खोज्ने थलो भएकाले संसदलाई एमालेले अवरोध गर्न नहुने उनको तर्क थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पछिल्लो सुन प्रकरणको छानबिनका लागि राज्यका निकायहरूलाई विश्वास गरेर जान पनि एमालेसँग विशेष अनुरोध गरे ।
उनले वर्तमान सरकारले सुन प्रकरण, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारको फाइल खोल्दै जाने तर एमालेले भने त्यसमा सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले कानुन, संविधान, नियम र नियमावली अनुसार पनि राज्यका निकायले सो सुन प्रकरणको अनुसन्धान गर्ने कुरा उल्लेख गरेकाले त्यसलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए ।
महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा, मुलुकमा सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले एमालेतर्फ संकेत गर्दै मदन भण्डारी हत्या प्रकरण, निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि फाइल खोज्न पर्ने कि नपर्ने ? भनि प्रश्न समेत गरे ।
कांग्रेसले भष्टाचारमा संलग्नहरूलाई कुनै पनि हालतमा नछोड्ने निर्णय लिएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सबै राजनीतिक दलहरू एकमत भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया