संसद्

सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

इकागज |
साउन २३, २०८० मंगलबार १९:३० बजे

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीलाई नै गर्न दिन आग्रह गरेका छन् ।​ मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबीलाई गर्न दिन आग्रह गरेका हुन् ।

उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबीले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान सकेर दोषीलाई कानुनी दायरामा ल्याउने बताए । उनले सिआइबीले अपराधी लुकाउने दुर्नियत देखायो भने मात्र छानबिन समिति बनाउने विषयमा छलफल गर्न सकिने बताए ।


विगतमा बनाइएको संसदीय छानबिन समितिले हराएको सुन भेट्टाउन नसकेको तथा समितिको प्रतिवेदन समेत कार्यान्वयन नभएको भन्दै उनले राज्यको संयन्त्रलाई नै अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले सरकारले दोषीलाई पहिचान गरी कारबाही प्रक्रियामा ल्याइ छाड्ने भन्दै त्यसका निम्ति सकारात्मक वातावरण बनाइदिन आग्रह गरे ।

गृहमन्त्री श्रेष्ठले भेपमा सुन तस्करी प्रकरणको फाइल आफ्नो टेबलमा आइनपुगेको पनि स्पष्ट पारे । उनले आफूले सो प्रकरणको पनि निष्पक्ष अनुसन्धान गरेर तथ्य, प्रमाणले देखाए अनुरूपको अभियोजनको प्रक्रियामा जान प्रहरीलाई निर्देशन दिएको बताए । आफू व्यक्ति विशेषलाई जोगाउन नलागेको भन्दै उनले माओवादी केन्द्रकै मान्छे भए पनि दोषी देखिएमा नछुट्ने उल्लेख गरे ।

उनले प्रमाण पुगेकाहरू कोही नउम्किने दाबी गरे ।


Author

थप समाचार
x