संसद्

कांग्रेस सांसद शर्मालाई पक्राउ गरेकोमा एमालेकाे विरोध

इकागज |
साउन २६, २०८० शुक्रबार १३:५१ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेकोप्रति विरोध गरेको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि शर्माले उच्च स्तरीय छानबिनको माग गरेकै कारण पक्राउ गरिएको एमाले सांसद ज्वालाकुमारी साहले शुक्रबारको प्रतिनिधिसभा बैठकमा बताइन् । 

उनले भनिन्, ‘सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सुरुदेखि उच्च स्तरीय छानबिन समितिको माग गरिरहेका कांग्रेसका माननीय सुनिल शर्मालाई पक्राउ गरियो । आज उनलाई कुन हिसाबबाट समातिएको छ ? त्यो कानुनले पनि मिल्दैन । उहिले नै सकिएको प्रमाण पत्रको म्याद झिकेर अहिले बखेडा खडा गरेर उनलाई समातियो ।’


शर्माले नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा सीआईबीले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । 

एमालेको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको मागसहित एमालेले प्रतिनिधिसभा बैठक स्थगित भएको हो । 

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद साहलाई बोल्न दिएका थिए । सत्तापक्षका सांसदले बोल्ने समय माग्दै उठेर अवरोध गरेका थिए । साहले बोलेलगत्तै एमाले सांसदहरु नाराबाजीसहित रोस्टमअगाडि उभिए थिए । त्यसपछि घिमिरले सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, एमालेका सांसदहरुले आफ्नो अडान नछाडेपछि सभामुख घिमिरेले कार्यसूचीका सबै विषय हटाएर सोमबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए । 

एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै दुई सातादेखि संघीय सदनअन्तर्गतका दुवै सदन अवरुद्ध पार्दै आएको छ । एमालेको विरोधकै कारण शुक्रबारको राष्ट्रिय सभाको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । साउन १० गतेयता दुवै सदनको बैठक बस्न सकेको छैन । 


Author

थप समाचार
x