संसद्

सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु : सभामुख घिमिरे

इकागज |
साउन २६, २०८० शुक्रवार २१:१९ बजे

धुलिखेल- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोध कानुन निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गरेका हुन् । 


'केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौँ,' सभामुख घिमिरेले भने, 'सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।'

अघिल्लो संसदमा पनि संसद् विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गराउँदै संसद् अवरोधको परिस्थितिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा संसदमा पर्याप्त छलफल हुन नसकेको बताए । 

'मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन,' उनले भने, 'मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसदमा पनि यथाशक्य यस विषयमा छलफल हुनुपर्छ ।'


Author

थप समाचार
x