संसद्

राजनीतिक दलहरूबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

इकागज |
भदौ ३, २०८० आइतबार १४:३७ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।​

आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको जिकिर गरे ।


सभामुख घिमिरेले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद् अवरोध हट्ने उल्लेख गरे ।

उनले भने, ‘ समस्याको समाधान गर्न दलहरूले वातावरण बनाउनुपर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु । कोसिस पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु । उहाँहरूले त्यसमा सहमति गर्नु बाहेक अर्को बाटो छैन । दलहरूकै बीचमा समझदारीको वातावरण हुनुपर्छ ।’

सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको बताए ।  


Author

थप समाचार
x