संसद्

उदयशम्शेर राणाको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले के दिए जवाफ ?

इकागज |
भदौ १२, २०८० मंगलबार १३:६ बजे

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १२ जना सांसदले नाम टिपाएका थिए । 

१२ मध्ये ८ नम्बरमा रहेको प्रश्न फिर्ता लिएका थिए भने ११ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरेका थिए । जसमध्ये सांसद उदयशम्शेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार वटा प्रश्न सोधेका थिए । प्रस्तुत छ राणाको प्रश्न र प्रधानमन्त्रीको जवाफ :


उदयशम्शेर राणाको प्रश्न

- उपत्यकाभित्र बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न रिङ्गरोड बाहिरका नगरहरू र गाउँहरूसम्म जोडिने सडक विस्तार गर्न नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाएता पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकसमा समस्या परेको छ। साथै उपत्यकाको ३५ प्रतिशत भू-भाग ओगटेको ललिपुर क्षेत्र नं. १ लाई जोड्ने ३ वटै सडकलाई मुआब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विभेद गरिएको छ। विभेद गरिएका वैकल्पिक सडक र नयाँ बस्ती विकासमा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ ?

- यतिबेला आर्थिक सूचकांकहरू (Indicators) सकारात्मक छन्। भुक्तानी सन्तुलन पनि राम्रो छ।तर अर्थतन्त्र अवरुद्ध अवस्थामा छ।

- वैदेशिक लगानी र सहयोग बढ्न सकेको छैन। यस्तो अवस्थामा आन्तरिक लगानी बढाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन। एकातिर बैंक वित्तीय संस्थामा पैसा थुप्रिएको छ, तर साना तथा मझौला उद्योगहरू ऋण नपाएको गुनासो गरिरहेका छन्। अर्थ व्यवस्थाको यो असन्तुनललाई सम्बोधन गर्न सरकारको तयारी के छ रु

- साथै¸ प्रधानमन्त्रीको आउँदो चीन भ्रमणका प्राथमिकता र एजेन्डा के के हुन् ?

प्रधानमन्त्री प्रचण्डको उत्तर

- काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माणका आयोजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा रकम विनियोजन गरिएको छ। ललितपुर क्षेत्र नं. १ लाई जोड्ने विभिन्‍न सडकको विस्तार र जग्गाको मुआब्जाका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारले ध्यान दिनेछ। 

- उत्पादन¸ उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च¸ दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ। सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार¸ अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असारमसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्‍चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्‍न पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउनेलगायतका कार्य अगाडि बढाइएको छ। 

- जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको र यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्र बैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ । उत्पादनमूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने भएको छ । बैंकहरूले उद्योग, व्यवसाय वा कम्पनीहरूको सञ्चालन चक्र लगायतका आधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था भएको छ । यसबाट उद्योग, व्यवसाय क्षेत्रलार्इ प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि वढ्नमा सहयोग पुग्ने विश्‍वास गरिएको छ । 

- निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाइ थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन(नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने¸ दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्‍चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय रहनेछन् । यसैगरी सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र  विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहनेछ।  


Author

थप समाचार
x