सांसद शाहीले प्रधानमन्त्रीलाई सोधे- रारामा पर्यटकको कमी भयो, यसमा सरकारको योजना के छ ?
काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १२ जना सांसदले नाम टिपाएका थिए ।
१२ मध्ये ८ नम्बरमा रहेको प्रश्न फिर्ता लिएका थिए भने ११ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरेका थिए । जसमध्ये सांसद ऐनबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन वटा प्रश्न सोधेका थिए । प्रस्तुत छ शाहीको प्रश्न र प्रधानमन्त्रीको जवाफ :
ऐनबहादुर शाहीको प्रश्न
- सम्माननीय प्राधानमन्त्रीज्यूको आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू खोल्ने एजेन्डामा मुगुको नाक्चेलाग्ना छ कि छैन ? छैन, भने एजेन्डामा समावेश गरियोस् यो नाका खुलेमा मुगु लगायत समग्र कर्णाली प्रदेशमा नै आर्थिक रुपमा समृद्धि ल्याउने छ।
- आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र कर्णाली प्रदेशका रारा लगायतका पर्यटकीय स्थानहरूमा पर्यटन पूर्वाधार लगायत विभिन्न समस्या हुँदा पर्यटकहरूको आवागमनमा कमी भएको छ यसमा सरकारको योजना के छ ?
- कर्णाली राजमार्ग अन्तर्गतको नाग्म-गमगदी कालोपत्रे र गमगदी नाक्चेलग्ना सडक निर्माणलाई सरकारले कस्तो प्राथमिकतामा राखेको छ ? र कहिलेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ?
प्रधानमन्त्री प्रचण्डको जवाफ
- मेरो आसन्न चीन भ्रमणको दौरान चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा समेत छलफल हुने छ ।
- पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य सरकारको उच्च प्राथमिकतामा छन्। रारा लगायतका पर्यटकीय स्थलको विकासका लागि सङ्घीय स्रोतबाट सञ्चालन हुने कार्यक्रमका अतिरिक्त प्रदेश तथा स्थानीय तहबाट समेत आ(आफ्ना कार्य क्षेत्रभित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा रहेका छन्।
- नाग्मा-गमगढी र गमगढी-नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको जानकारी गराउँदछु। हाल नाग्मा-गमगढी ६.५ कि.मि. कालोपत्रे र ८ कि.मि. ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको छ। त्यसैगरी गमगढी-नाक्चेलाग्नामा १२ कि.मि. निर्माणको कार्य भइरहेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया