संसद्

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्नुपर्छ : प्रेम सुवाल

इकागज |
भदौ १२, २०८० मंगलबार १४:३९ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।​

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । त्यसैगरी उनले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।


सांसद सुवालले भने, ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ । ’

सांसद सुवालले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्मविपरीत रहेकाले मान्य नहुने पनि बताए ।


Author

थप समाचार
x