संसद्

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न कानुनमन्त्रीकाे आग्रह

इकागज |
भदौ १२, २०८० मंगलबार १९:२४ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त विधेयकमाथिको छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गलत नियतका साथ उक्त विधेयक नल्याएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् । विधेयक ल्याउने क्रममा बिचौलिया हावी भएको सांसदहरूको प्रश्नप्रति उनले आफूले निष्ठाकाे राजनीतिक नछाडेको भन्दै उक्त भनाइप्रति आपत्ति जनाए ।


उनले आजका दिनसम्म आफू कही पनि नचुकेको र भोलिको दिन पनि नचुकेको जिकिर गरे । निष्ठाको राजनीतिक गर्न नसकेको दिन आफूले राजनीति नै छाडिदिने उनको भनाइ छ ।

बैठकमा मन्त्री गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव भने पारित हुन सकेन । गणपूरक संख्या नपुगेपछि मंगलबार उक्त विधेयक अघि बढ्न नसकेको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसदहरूले नियमापत्ति जनाएका थिए ।

सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या यकिन गर्न निर्देशन दिएका थिए । प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाइ ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते सोमबार बोलाइएको छ । 


Author

थप समाचार
x