संसद्

गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गर्नु गलत हो : गगन थापा

इकागज |
असोज १८, २०८० बिहिवार १४:२६ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गर्नु गलत भएको बताएका छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गर्नु गलत भएको बताएका हुन् । 

‘संविधान दिवसको दिन ६ सय ७० जनालाई माफी मिनाहा गरिएको छ,’ उनले भने, ‘६ सय ७० मध्ये कति संविधान सम्मत कानुन सम्मत पनि छ होला । तर, फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ । बदनियतका साथ भएको यसको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । यसको विरोध हुन्छ ।’


सांसद थापाले आफूले पनि यसको विरोध गर्ने बताए । उनले भने, ‘यो विषय अदालतको ढोकासम्म पुगेको छ । यसले हामी सबैलाई गिज्याइरहेको छ । अदालतले पक्कै यसको बारेमा बोल्छ ।’

चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका योगराज ढकाल भनिने रिगललाई संविधान दिवसका दिनमा आममाफी दिएपछि यसको विरोध भइरहेको छ । चेतनकी श्रीमतीले यसको विरोधमा माइतीघर मण्डलमा अनशन जारी राखेकी छन् । 


Author

थप समाचार
x