संसद्

भारतमा विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ : प्रधानमन्त्री

इकागज |
भदौ ६, २०८१ बिहीबार १८:४० बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोधेको प्रश्नको जवाफ दिँदै उनले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताए । 


प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको बताए । 

साथै सो अवधिसम्म नेपालको कुल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषदमा पेस भइसकेको उनले बताए । 

हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावाट पुगेको र आव २०९०/९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उनले जानकारी दिए । 

कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ । 

त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट पाँच हजार छ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट चार हजार चार सय ३१ मेगावाट र भारतीय कम्पनीबाट प्रवर्द्धन भइरहेका आयोजनाबाट तीन हजार छ सय ७९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तरदेशीय विद्युत् प्रसारण लाइन विकासका क्रममा रहेको उनले बताए । 

'ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको पहिलो नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०१६ देखि सञ्चालनमा छ । अरुण–३ जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी सतलजजल विद्युत् निगम लिमिटेडबाट निर्माण भइरहेको दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको ढल्केबर–सितामढी ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ,' उनले भने । 

प्रधानमन्त्री ओलीले दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको बताए । 

त्यसैगरी, दुई पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताका थप दुई वटा ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा छन् । यी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको उनको भनाइ छ । 

'नेपाल र भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइनबाट १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत् प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने हुन्छ,' उनले भने, 'यसका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने हेटौडा–ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा छ ।' 

त्यसैगरी, लफ्सीफेदी–रातामाटे–न्यू हेटौडा र रातामाटे–न्यू दमौली–न्यू बुटवल ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य छिट्टै सुरु गरिने उनले जानकारी दिए ।

'यी प्रसारण लाइनका सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । साथै, खिम्ती–बाह्रबीसे–काठमाडौं ४०० केभी, मर्स्याङ्दी करिडोर २२० केभी र चिलिमे–त्रिशूली २२० केभी विद्युत् प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ,' उनले भने । 

प्रधानमन्त्री ओलीले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी विद्युत् प्रसारण लाइन र देशका प्रमुख लोड केन्द्र भएर जाने साउथ करिडोर विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।  

'उत्पादन तथा प्रशारण आयोजना सम्पन्न हुँदा नेपाल–भारत बीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापारका सम्झौतामा उल्लिखित परिमाणको विद्युत् निर्यात गर्न सकिने तथा नेपालको आन्तरिक खपत समेत बढाउन सकिनेछ,' उनले भने । 

नेपालले भारतीय विद्युत् ग्रीड प्रयोग गरी बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी कार्य अन्तिम चरणमा रहेको पनि उनले जानकारी दिए । 

'गत साउन १३ गते नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूको उपस्थितिमा काठमाडौँमा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच विद्युत् बिक्री सम्झौता (पीएसए) हस्ताक्षरको तयारी भएको थियो । तर, बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उक्त कार्यक्रम स्थगित भयो,' उनले भने ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको छ वर्षपछि सार्थकता पाउन लागेको विद्युत् निर्यातसम्बन्धी सम्झौता नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे । बङ्गलादेशको सरकारले समेत नेपालबाट आयात गरिने विद्युतको मूल्य स्वीकृत गरी सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेको उनले बताए । 

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उपर्युक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए । 

उनले निकट भविष्यमा उक्त समझदारीमा हस्ताक्षर भई नेपालबाट प्रथम पटक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुने र यो दक्षिण एसियामा उप–क्षेत्रीय ऊर्जा सहकार्यको रूपमा पहिलो महत्वपूर्ण उपलब्धि हुनेमा उनले विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x