संसद्

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

इकागज |
भदौ १८, २०८१ मंगलबार १६:४२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा ल्याउन लागिएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।


हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए । मौसममा सुधार आउने बित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।

 तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनले प्रस्ट पारे । अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको उनले जानकारी दिए । सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।  रासस

 


Author

थप समाचार
x