संसद्

राष्ट्रियसभामा हिजो गम्भीर विषय उठेका थिए तर ‘बाँदर’ मात्र उफ्रेको छ

आकाश क्षेत्री |
असार २२, २०७८ मगलवार १५:५९ बजे

बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेष हुँदैन
छेपाराजस्ता मौसमी रङ बदल्ने 
बाँदरहरूको स्थायी परिवेश हुँदैन  
 

-२१ असार २०७८, कोमल वली, राष्ट्रिय सभा, विशेष समय


सांसद खिम विश्वकर्माले राष्ट्रिय सभामा सम्बोधन गरिरहेका थिए, तर आवाज आइरहेको थिएन । पाँच मिनेट समय सकिएछ । सोमबार राष्ट्रिय सभा आठौँ अधिवेशनको तेस्रो बैठक बस्यो ।

बैठकको विशेष समयमा ११ सांसदले ८७ मिनेट बोल्ने कार्यसूची थियो । बैठकको कुल १ घण्टा २७ मिनेटको समयमा विश्वकर्माका कुरा सुन्न ५ मिनेट समय छुट्याइको थियो । तर, उनका कुरा नसकिँदै समय सकियो । र, माइक बन्द गरियो । त्यसपछि सभाकी उपाध्यक्ष शशिकला दाहालले भनिन्, ‘माननीय कोमल वली, समय १० मिनेट ।’
  
वलीले भारतीय पूर्वराष्ट्रपति तथा वैज्ञानिक अब्दुल कलामको भनाइबाट आफ्नो सम्बोधन सुरु गरिन् । उनले देशभक्तिको कुरा गरिन्, नेपाली स्वाभिमानको कुरा गरिन्, वैदेशिक रोजगारीको पीडा र सरकारको विरोध गर्नेहरूको विरोधमा समेत आफ्ना भनाइ रेकर्ड गराइन् । अन्त्यमा सांसद वलीले कविता सुनाइन् । 

राष्ट्रिय सभालाई संघीय संसद्को माथिल्लो सदन पनि भनिन्छ । सबै क्षेत्रका विज्ञ सुझावका लागि राखिने थलोका रुपमा समेत यसलाई चिनिन्छ । यहाँ कुल ५९ सदस्य हुन्छन् । जसमध्ये हरेक प्रदेशबाट ८–८ र ३ मनोनित हुन्छन् । सबैको काम कानुन निर्माण प्रक्रियामा सहयोग गर्ने र आम नागरिकका मुद्दा उठाउने नै हो । 

सोमबारको बैठकमा सांसद वलीले बाँदरकोे कविता पनि सुनाइन् । सदनमा उनले कविता सुनाउनु ठूलो कुरा होइन, त्यही कविताले बहस छेडिदिनु ठूलो कुरा भयो । पछिल्लो समय सामाजिक सञ्जालमा कवितामाथि पक्ष–विपक्ष भएर बहस चलिरहेका छन् ।

पितासमान नेताहरूलाई ‘बाँदर र छेपारा’ भन्ने भन्दै पत्रकार किशोर श्रेष्ठले फेसबुकमा वलीको फोटो राख्दै व्यक्तिगत विषयसमेत प्रवेश उठाएका छन् । प्रेस काउन्सिलको उच्च पदमा आसीन भइसकेका उनको प्रतिक्रिया विषयान्तर गर्ने खालको मात्र छैन, गाली-गलौजकै स्तरको छ । लेखेर होस् वा बोलेर महिलाका विषयमा निरन्तर आवाज उठाउने अमृता लम्सालले श्रेष्ठको भनाइ बाँड्दै ‘तर्क नगरेर कसैको चरित्रमाथि औँला उठाउन नपाइने’ भनेर लेखेकी छन् । 

सदनमा बाँदरको कविताबाहेक अरु थुप्रै महत्वपूर्ण विषय पनि उठेका थिए । हामीले ती गम्भीर विषयलाई बहसमा ल्याउन किन खोजेनौँ ? जहिल्यै सतही र सनसनीपूर्ण कुरामा हाम्रो चासो किन ?
सतही कुराको अति आलोचना पनि एकप्रकारले प्रचार हो । र, खराब प्रसंगको आलोचना गरिरहँदा सही प्रसंग छोपिनुहुन्‍न । वलीले कविता भनेकै सदनमा सांसद डा. विमला राई पौड्यालले खोपको विषय उठाइन्, अपाङ्गता र अशक्त मानिसको विषय उठाइन् । खोइ यो विषयमा खासै चर्चा र बहस भएन ।  

सोमबार माथिल्लो सदन सुरु भएसँगै सांसद देवेन्द्र दाहालले ताजा जनादेशमा जाने सरकारको कदमबारे बहस गरे । सरकारको बचाउ गर्दै विपक्षीलाई कटाक्षसमेत गरे । उनले भने, ‘विपक्षीहरू कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन ।’

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको सरकारलाई सदनबाटै विरोध गर्ने शैली त झन् रोचक नै थियो । यो शैली संसदीय व्यवस्थाको इतिहासमा लेखिने किस्सामध्ये एउटा किस्सा बन्‍न योग्य छ ।  

सांसद रायमाझीले कालो रङको आफ्नो टोपी देखाउँदै सरकारको विरोध गरेका थिए । सदनमा निषेध रहेको कालो झण्डाको प्रतीक स्वरूप उनले सदनलाई कालो क्याप देखाएका थिए । कालो क्याप देखाउँदै उनले भने, ‘ सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् भनेर कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।’

माओवादी सांसद नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई निरंकुश र प्रतिगमनको संज्ञा दिए । प्रधानमन्त्रीलाई उनले कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै प्रतिगमनको सपना नदेख्‍न चेतावनीसमेत दिए । उनले भने, ‘म चेतावनी दिन चाहन्छु । त्यो कहिल्यै पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरी छाड्नेछौँ ।’

त्यस्तै जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरूले छलछाम र जालझेल गर्न थालेको आरोप लगाए । 

अर्कोतिर राष्ट्रिय सभा सदस्यका रुपमा निर्वाचित भएपछि पहिलोपटक सदनमा सम्बोधन गरेका सांसद डा. खिमलाल देवकोटाले मन्त्रालयहरूले पनि नेपालको पुरानै नक्सा प्रयोग गरिरहेको तथ्य उजागर गरे । सरकारले चुच्चे नक्सा जारी गरेपछि पनि सरकारले नै पुरानो नक्सा प्रयोग गर्दै आएको भन्ने विषय गम्भीर थिएन र ?

राष्ट्रिय सभामा बोलिएका प्रत्येक शब्द सयौँ वर्षसम्म संग्रह गएर राखिन्छ । सदनमा उठ्ने यस्ता कुराहरू आजको समयको प्रतिविम्ब त हुँदै हुन्, भोलिका लागि थप अध्ययनका विषय पनि । त्यसैले खास मुद्दामाथि आफ्ना भानाइ जसरी राखे पनि हुन्छ तर आम चर्चाका लागि सस्ता र सतही विषय उठाइरहनु आफू उभिएको ठाउँको अपमान नै हो ।

माथिका तथ्यहरूले प्रस्टै देखाउँछन्, राष्ट्रिय सभामा ‘बाँदरको कविता’ मात्र भनिएको छैन । गम्भीर खालका विषयवस्तु पनि उठेका छन् र हाम्रा समस्याबारे पनि बोलिएको छ, तर मिडिया-सोसल मिडिया हेर्दा ‘बाँदर’ मात्र उफ्रिरहेको छ । आममानिसले ‘कोभिडविरुद्धको खोप’भन्दा ‘बाँदरको कविता’मा धेरै रुचि राखेको देखियो । तर, यस्तो रुचि निर्माण गर्न हामी पनि उत्तिकै जिम्मेवार छौँ ।


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x