सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को विशेष चासो, बनायो छानबिन समिति

फाइल फाेटाे
काठमाडौं - सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएको छ ।
संसदको राज्यव्यवस्था र सुशासन समितिले उक्त दुर्घटना परेको निवेदन उपर छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो ।
आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाई, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उपसमितिलाई घटनाका सम्बन्धमा परेको उजुरीको छानबिन गरी कारबाहीको सिफारिस गर्ने अधिकार प्रदान गरिएको सभापति खतिवडाले जानकारी गराए ।
घटनाका सम्बन्धमा सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाईं र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले समितिमा दुई महिना अघि नै उजुरी गरे पनि बल्ल उपसमिति बनेको हो ।
उजुरीमा खतिवडाले सौर्य जहाज घटना दुर्घटना नभई गम्भीर अपराध भएको आरोप लगाएका छन् । उजुरीमा सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडा र ४ वर्षे नाति अधिराज शर्मालाई फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानुनी हर्कत गरेको दाबी गरिरहेका छन् ।
दुर्घटना भएको जहाजको उडान नै गैर कानुनी रहेको, गैर व्यावसायिक ५ जनामात्र बोक्न पाउने ‘ फेरी’ उडानमा १८ जना बोकेर उनीहरूको ज्यान लिएको, सरकारी जाँच आयोग विधि मिचेर बनाइएको, आयोगले एयरलाईन्सको आर्थिक चलखेलमा नियोजित प्रतिवेदन तयार पारी घटनाका दोषीलाई उन्मुक्ति दिने प्रपञ्च रचेको आरोप लगाइएको छ ।
घटनाका सम्बन्धमा पीडित परिवारको तर्फबाट न्यायका लागि सौर्य एयरलाईन्स, नेपाल नागरी उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्राधिकरण, सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र प्रधानमन्त्री तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितीमा समेत उजुरी दिदा पनि बेलैमा सम्बोधन नगरेर राज्यव्यवस्था र सुशासनको खिल्ली उडाएकोले थाको नपाएकोले संसदको राज्यव्यवस्था र सुशासन समिति गुहार्न बाध्य भएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।
खतिवडा भन्छन, ‘एयरलाईन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरेको भए मैले मेरा तीन सन्तति गुमाउनु पर्ने थिएन ।’
सौर्य एयरलाईन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाई र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाईलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया