संसद्

राष्ट्रिय सभा : महिला माननीयको मत

कोभिड-१९ संकटदेखि राजनीतिक संकट र समाजिक विसंगतिसम्म

इकागज |
असार २७, २०७८ आइतबार १५:२७ बजे

काठमाडौँ : राष्ट्रिय सभा आठौँ अधिवेशनको पाँचौ बैठकमा पुरुषभन्दा बढी महिला सांसदले सम्बोधन गरे । बैठकको विशेष समयमा ५ जना पुरुष सांसदले बोले भने ९ जना महिला सांसदले बोलेका छन् ।

खबरदारीपूर्ण र सशक्त प्रस्तुतिका साथ सदनमा उपस्थित भएका महिला सांसदहरूले कोभिड-१९ महामारीदेखि प्रधानमन्त्रीका कदमसम्मका विषय उठाए । सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले अब राष्ट्रिय सभाबाट नै आम जनताका कुरा प्रभावकारी ढंगले उठाउनुपर्ने राय व्यक्त गरिन् ।


'राष्ट्रिय सभाको सातौँ अधिवेदनमा पनि प्रतिनिधि सभा विघटन भएको थियो, आठौँ अधिवेशनमा पनि विघटन छ, संविधानको अपव्याख्या गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो', उनले भनिन्,'यस्तो बेला आम जनताका मुद्दालाई यही सभाबाट उठाउनुपर्ने छ ।'

पछिल्लो समय सरकारले ल्याइरहेको अध्यादेशको विषयमा पनि देवकोटाले आफ्नो धारण व्यक्त गरिन् । उनको भनाइ थियो,'अध्यादेशको ओइरो लागेको छ, यो तानाशाह हो ।'

पछिल्लो समय देखिएका बलात्कार र हत्याका घटनाहरूको बारेमा पनि सांसद देवकोटाले आफ्ना भनाइ राखिन् । सरकारले कुनै 'फास्ट ट्र्याक' यो समस्याको हल गर्नुपर्ने उनको राय छ । देवकोटाले प्रश्न गरिन्,'अझैँ पनि हाम्रा छोरीहरूले कहिलेसम्म असुरक्षित भएर बाँच्नुपर्ने हो ?'

त्यसपछि जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला कुमारी प्रदेश-२ मा भइरहेको बाढी र डुवालको विषयमा सरकारलाई ध्यानाकर्षण गराइन् । 'सप्तकोशीमा पानीको बहाव उच्च छ, अझैँ बढिरहेको छ । सुनसरी, उदयपुर र सप्तरी जिल्ला प्रभावित भएका छन्', उनले भनिन्,'धेरै गाउँहरू प्रभावित भएका छन् । सरकारले यसको सामधानका लागि दीर्घकालीन उपाय खोज्नुपर्छ ।'

प्रधानमन्त्रीले संविधानको अपव्याख्या गरिरहेकोसमेत प्रमिला कुमारीले प्रष्ट पारिन् । 'प्रधानमन्त्रीले संविधानको अपव्याख्या गरेर अदालरलाई भ्रममा पार्न खोज्नुभएको छ, अब अदादतकै विश्वास छ', उनले भनिन्,'आफ्नै पार्टीको विवाद मिलाउन नसक्ने प्रधानमन्त्रीबाट मधेसको मुद्दा सम्बोधन गर्न सक्ने देखिँदैन ।

सांसद प्रमिला कुमारीले सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भएर सरकारको विरुद्धमा उभिनसमेत आह्वान गरिन् । प्रधानमन्त्रीले भ्रम छरेर आफ्नो पार्टी फुटाउन खोजेकोसमेत उनको आरोप छ । 'उहाँले भ्रममा मेरो पार्टीका नेताहरूलाई आफूतिर पारेर मेरो पार्टी फुटाउन लाग्नु भएको छ', उनले भनिन् ।

सत्तारुढ नेकपा एमालेकी सांसद  नैनकला ओझाले बाढी पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धान्जली ब्यक्त गर्दै पीडितका लागि आवश्यक राहतका लागि सरकारलाई आग्रह गरिन् । सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम एकदमै राम्रो भएकोसमेत उनले टिप्पणी गरिन् ।

सरकारका पछिल्ला कदमहरूको बचाउ गर्दै सांसद ओझाले भनिन्,'सुशासनलाई बलियो पार्न विभिन्न अध्यादेश ल्याइएको छ । यसले पछिसम्म राम्रो प्रभाव पार्छ । सत्ता प्राप्तिका लागि अलोकतान्त्रिक कामहरू भइरहेका छन् ।'

त्यसपछि माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासेले भने सरकारका पछिल्ला कदमबारे चर्को विरोध गरिन् । 'नेपाल लिखित संविधानका आधारमा शासन संचालन हुने देश हो । सुशासनकै लागि संविधान जारी भएको हो । आज सुशासन कहाँ छ ? समृद्धि कहाँ छ ?', उनले भनिन्,'जनप्रतिनिधि सभाको संस्था कसले विघटन गर्‍यो त्यो हामीलाई थाहा छ । किन गरियो त्यो थाहा छैन । के यसले सरकारको कार्यसम्पादनमा कुनै समस्या परेको थियो ?'

सांसद बेलबासेले संवैधानिक नियुक्तिदेखि पेट्रोलियम पदार्थमा लगातार मूल्यमृद्धिसम्मको विषय सदनमा उठाइन् । 'प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? हलो अड्काएर गोरु चुट्ने काम भएको छ । संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएका छन् । यी नियुक्ति खारेज गर्नुपर्छ', उनले थपिन्,'पेट्रोलियम पदार्थमा लगातार मूल्यमृद्धि भइरहेको छ । सिन्डिकेट र कालोबजारीले सीमा नाघेका छन् । यो अराजकता हो ।'

‍सत्तारुढ नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले सांसदहरूले अदालतमा विचाराधीन मुद्दामा चर्चा गर्न नहुँने बताइन् । 'सरकारलाई आफ्नो कामप्रति उत्तरदावी बनाउने हाम्रो काम हो । अदालतमा विचाराधीन माद्धामाथि अनावश्यक चर्चा गर्नु राम्रो होइन्', उनले भनिन् ।

त्यस्तै उनले महामारीका विषयमा सरकार तयारीका साथ बस्नुपर्ने बताइन् । 'कोभिड महामारीको नयाँ भेरियन्टको खतरा छ, यसको पूर्वतयारीमा जुट्न सरकारलाई आग्रह गर्दछु', उनले भनिन्,' बाढी पहिरोको सामना गर्न सरकार आवश्यक तयारीमा लाग्नुपर्ने देखिन्छ ।'

अर्कोतर्फ माओवादी केन्द्रकी सांसद विना पोखरेलले सरकारको चर्को विरोध गरिन् । उनले भनिन्,'संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाइदैछ । यो उपलब्धीलाई हामीले रगतसँग साँटेका हौँ । रक्षक नै भक्षक भइरहेको देखिन्छ ।

माओवादीले गरेको सशस्त्र संघर्षको कुरा उठाउँदै उनले मुलुक परिवर्तन गर्नको लागि धेरै रगत बगाएको पोखरेल बताइन् । त्यो बेला को कहाँ-कहाँ के-के गर्दै थिए भन्ने इतिहास साँची रहेकोसमेत उनले प्रष्ट पारिन् ।

महामारी र विपत्ति नियन्त्रणमा सरकारको कुनै चसो नै नदेखिएकोसमेत उनले प्रष्ट पारिन् । 'कोरोना संक्रमण अझैँ नियमन्त्रणमा आएको छैन । सरकारले जनताको जिउ धनको रक्षा गर्न छाडेर कमिसनको खेलमा लागेको चर्चा सुनिन्छु', उनले थपिन्,'मनसुन सक्रिय भएन जनधनको क्षति गर्छ । यसमा सावधानी अपनाएर क्षति कम गर्न सकिन्छ । तर वर्षेणी चाउचाउ बाँडेर कमिसन खाने खेल हुन्छ ।'

अर्की महिला सांसद विमला राई पौड्यालले पछिल्लो समय नेपालीहरूमा गाली गर्ने बानीको विकास भइरहेको दाबी गरिन् । यस्ता खालका गालीहरूले नेपालका संस्थाहरू नै संकटमा परेको उनको भनाइ छ । उनले भनिन्,'विदेशीले यहाँका जनता असल छन् भनेर यहाँ घरीघरी आउन खोज्छन् । विगत केही वर्षदेखि हामीलाई गाली गर्न थालेका छौँ । यस्ता गालीले हामी आफैले बनाएका संस्थालाई पनि कमजोर बनाउँदैछौँ ।'

राष्ट्रपति व्यक्ति नभएर एउटा संस्था भएको र त्यस संस्थालाई कसैले अपमान गर्न नहुँनेसमेत सांसद पौड्यालले प्रष्ट पारिन् । उनले भनिन्,'एकजना पूर्वप्रधानमन्त्रीले एउटा कार्यक्रममा भन्नुभयो राष्ट्रपतिभन्दा त राजा नै राम्रो, राष्ट्रपति एउटा संस्था हो, व्यक्तिगत रुपमा उहाँले मन नपराउन सक्नुहुन्छ तर राष्ट्रपति संस्थालाई गाली गर्न हुन्न भन्ने ध्यानाकर्षण गराउन चहान्छु ।'

त्यसपछि सांसद शान्तिकुमारी अधिकारी जिसीले कोभिड महामारीमा खटिएका फ्रन्टलाइनरका समस्या सरकारले सम्बोधन गर्नुपर्ने बताइन् । अन्त्यमा सांसद सुमित्रा बिसीले कोभिड महामारी, बाढीपहिलो, सडक दुर्घटना र बढिरहेको महिला हिंसाको विषयलाई सदनमा उठाइन् ।

 

 


Author

थप समाचार
x