संसद्

राष्ट्रिय सभामा आज के-के भयो ? सांसदहरूले के-के बोले ?

इकागज |
असार २८, २०७८ सोमबार १५:९ बजे

काठमाडौँ : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सभाको कार्यसूची अनुसार सोमबार विभिन्न दलका प्रतिनिधिहरूले सम्बोधन गरिरहेका छन् ।

राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाल वायु सेवा निगमलाई नीजिकरण गर्न खोजिनु आपत्ति जनक रहेको भन्दै निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन माग गरे । वर्तमान सरकारलाई सर्वोच्च अदालतले काम चलाउ भनेकाले यस्तो महत्वपूर्ण निर्णय यो सरकारले गर्न नमिल्ने बताए । निगमलाई अहिलेकै अवस्थामा चलाउन नसकिएपनि अहिलेको अवस्था फेर्नुपर्ने र कसरी चलाउन सकिन्छ भनेर राजनीतिक सहमती कायम हुनुपर्ने उहाँले बताए । 


उनले भने,‘नेपाल वायु सेवा निगमको अत्यन्त नाटकिय रुपमा, अत्यन्त अनुचित रुपमा, अत्यन्त आपत्तिजनक रुपमा प्रवन्धपत्र नियमावली पारित भयो । वायु सेवा निगम जसले ६३ वर्षको आफ्नो जीवनमा नेपाली जनतालाई जहाँ प्राइभेट सेक्टरका एयरलाइन्सहरु जाँदैनन् । ति ठाउँहरुमा सेवा दिएको छ । जुन हचुवा ढंगले जुन ढंगले सञ्चालक समितिले निर्णय गरेको छ, त्यो निर्णय अत्यन्तै आपत्ति जनक छ । त्यसलाई म विरोध गर्न चाहान्छु । त्यसलाई फिर्ता लिन माग गर्दछु ।’

राष्ट्रिय सभाका अर्का सांसद भैरव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संमृद्धिको राम्रो काम गरेको देख्न नसकेर विपक्षी दलहरुले गलत प्रचार प्रसार गरेका बताएका छन् । सोमबार बसेको सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले सरकारले समृद्धिको लागि काम गरेको र संविधान कार्यान्वयनको सम्बन्धमा कानुन निर्माणको काम गरेको देख्न नसकेर विपक्षी गठबन्धन अत्तालिएर सरकारको विरोध गरेको बताए ।

उनले संसदले कुनै कानुन बनाउन नसक्ने र कुनै सरकार दिन नसक्ने स्थितिका कारण संसद् विघटन गरिएको भए पनि असंवैधानिक कदम भनेर रटान लगाइएको बताए । निर्वाचनमा जानु नै संविधानसम्म्त र लोकतान्त्रिक अभ्यास भएको उनले जिकिर गरे । उनले भने,‘न त्यो संसद्ले सरकार दिन सक्छ । न त्यो संसदले कानुन बनाउन सक्छ । न सार्वजनिक महत्वको विषयमा बोल्न सक्छ भने यस्तो संसदलाई राख्नुभन्दा बरु नयाँ जनादेशका निम्ति जनताको बिचमा जानुपर्ने कुराहरुलाई लोकतान्त्रिक अभ्यास गरिरहँदा त्यस्तो लोकतान्त्रिक अभ्यासलाई गैर संवैधानिक भनियो ।’ 

अर्का सांसद रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरुले दुख पाएको बताए । प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोभिड आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको बताए ।

उनले भने,‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ । प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ । अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ । प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ । यसका निम्ति साइबरे सरकारीहरु सरकारी साधनमार्फत् व्यापक प्रचार गर्छन् । नेपालीलाई कोरोनाले छुँदैन । छोएपनि बिरामी हुँदैन । बिरामी भएपनि मर्दैन । यस्तो भनेर परिणामत के आयो भने अक्सिजनको अभाव भयो । औषधिको अभाव भयो । अस्पतालको अभाव भयो । भेन्टीलेटरको अभाव भयो । राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु हो । तर गणतन्त्रको प्रतिकबाट संवैधानिक काम भएन । देश अस्तव्यस्त भयो ।’


Author

थप समाचार
x