संसद्

प्रतिनिधि सभा बैठक : 'विश्वासको मत'सँगै आजको कार्यसूचीमा अरु के-के छन् ?

इकागज |
साउन ३, २०७८ आइतबार १४:५४ बजे

काठमाडौँ : कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभाको बैठकका लागि कार्यसूची तय गरिसकेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । आइतबार प्रतिनिधि सभाको दुईवटा बैठक बस्‍ने र पहिलो बैठकले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरू प्रस्तुत गरिने तथा शोकप्रस्तावहरू पारित गरिने सभामुख सापकोटाले जानकारी  दिए ।

उनले आजै बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय गरिएको बताए । उनले भने,‘दोस्रो बैठकमा प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन्छु भनेर पत्र पठाउनुभएको छ । यो पत्र अनुसार विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नका लागि सचिवालयले तयारी गरिरहेको छ । त्यही अनुसार तयारी गर्न मैले सचिवालयलाई निर्देशित पनि गरेको छु । आज यिनै कार्यसूचीहरू छन् । विश्वासको मतको लागि प्रस्ताव दर्ता भइसकेको छ ।’


सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 


Author

थप समाचार
x